
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सहमतिमा नै टुङ्ग्याउने प्रयास चलिररहेको छ । सोमबार राति अबेरसम्म अनौपचारिक रुपमा भएको छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार मुख्यमनत्री बहादुरसिंह लामाले राजीनामा दिनेगरि सहमतिको अन्तिम खाका तयार भैसकेको छ । तर लामाले राजीनामा दिन इन्कार गरेको खण्डमा मात्रै मतविभाजन गर्नेगरी आज मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि राजेन्द्र केसीले सोमबारको छलफलले अविश्वासको प्रस्तावलाई सहमतिमा टुङ्ग्याउने निष्कर्ष निकालेको जानकारी दिनुभयो । मुख्यत बहुमत सदस्यले अविश्साव प्रस्तावमा हस्ताक्षर गरिसकेको हूँदा त्यसलाई नै आधार बनाएर मुख्यमन्त्री लामाले संसदीय दलमा मार्ग प्रशस्त गर्ने भन्ने कुरालाइृ मुख्य रुपमा राखिएको छ ।
नेता केसीले यदि सहमति कायम भयो भने अविश्वासको प्रस्तावमा मत विभाजनको अवस्था नआउने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री लामा पक्षका उपनेता रामकृष्ण चित्रकारले पनि सहमतिको प्रयास भइरहेको र प्रस्तावको प्रक्रियाबारे केही असमझदारी रहे पनि छलफलबाटै टुङ्ग्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले सहमतिको मोडालिटीबारे अन्तिम निष्कर्ष निकाल्न नसके पनि वर्तमान नेताले मार्ग प्रशस्त गर्न सक्नेबारे गम्भीर छलफल भएको जानकारी दिनुभयो । शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा बहादुर सिंह लामा तामाङविरुद्ध २१ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । संसदीय दलका ३७ मध्ये १९ जना सांसदको समर्थन भए परिवर्तन सम्भव हुनेमा २१ जनाले हस्ताक्षर गरेपछि राजनीतिक सङ्कट चुलिएको थियो ।
उता बानियाँको पक्षमा हस्ताक्षर गरेका दुई जना माननीयले भने आफूहरुलाई कुन प्रयोजनका लागि हस्ताक्षर गरिएको भन्ने जानकारी नगराईकन हस्ताक्षर गराइएको भन्दै आफूहरुको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । उनीहरुले ११ गते नै हस्ताक्षर फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । यसरी बानियाँको पक्षमा हस्ताक्ष्र गरेका मध्ये २ जनाले फिर्ता लिएको खण्डमा लामाको पक्षमा बहुमत पुग्ने देखिन्छ ।
मुख्यमन्त्री लामाले यहि विषयलाई आधार बनाएर राजीनामा नदिने बताउँदै आएको उहाँ निकटका एक नेताले नुवाकोट पुकारलाई बताए । २०८१ साउन मा भएको सहमति अनुसार दुवै नेताले आधा आधा कार्यकाल नेतृत्व भएको सहमति अनुसार लामाले राजीनामा नदिएका कारण अविश्वास प्रस्ताव दर्ता गरिएको बानियाँ पक्षको दावी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा नै यसरी सहमति भएको थियो, तर उहाँले विश्वासघात गर्नुभयो, राजनीतिमा आफ्नै नेतामाथि विश्वासघात हुनु राम्रो कुरा होइन, ति सदस्यले भने
