“नुवाकोटका छोरी राम्रा छन्, तर सडक राम्रो छैन” : कांग्रेस सभापति गगन थापाको अभिव्यक्ति चर्चामा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १३, शनिबार २२:२६


नुवाकोट : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नुवाकोट भ्रमणका क्रममा दिएको एउटा अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ। बेलकोटगढी नगरपालिका–२ स्थित कुमरीमा आयोजित पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका थापाले भने, “नुवाकोटका छोरी राम्रा छन्, तर बाटो राम्रो छैन।”


थापाको उक्त भनाइलाई धेरैले झन्डै छ दशकदेखि नुवाकोटको राजनीतिमा सक्रिय रहेका कांग्रेसका वरिष्ठ नेता तथा आफ्नै ससुरा अर्जुननरसिंह केसी परिवारप्रति सांकेतिक टिप्पणीका रूपमा अर्थ्याएका छन्। लामो समयसम्म नुवाकोटको प्रतिनिधित्व गरे पनि सडक पूर्वाधारको अपेक्षित विकास हुन नसकेको सन्देश थापाले व्यंग्यात्मक शैलीमा दिन खोजेको चर्चा भएको छ।


थापा काठमाडौंबाट सितापाइला हुँदै करिब ३५ किलोमिटर लामो सडक पार गरेर कुमरी पुगेका थिए। सो सडकको दयनीय अवस्थाले उनको ध्यानाकर्षण गरेपछि उनले उक्त अभिव्यक्ति दिएको उपस्थितहरूको भनाइ छ।


कार्यक्रमस्थलमा गाडीबाट ओर्लिने क्रममा थापालाई उनका काइँला ससुरा जगदीश्वर नरसिंह केसीले स्वागत गरेका थिए। स्वागतकै क्रममा थापाले मुस्कुराउँदै उक्त टिप्पणी गरेका थिए, जुन अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।


थापाको भनाइलाई केहीले हल्का ठट्टा र व्यंग्यका रूपमा लिएका छन् भने केहीले नुवाकोटको सडक पूर्वाधार सुधारको आवश्यकतामाथि गरिएको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *