१० दिनभित्र जरिवाना बुझाएर नियन्त्रणमा रहेका लाइसेन्स र ब्लुबुक फिर्ता लैजान नुवाकोट ट्राफिकको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १४, आईतवार १३:५९

विदुर (नुवाकोट), असार १४ — जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटले सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लुबुक) लगायतका कागजात १० दिनभित्र फिर्ता लैजान सम्बन्धित सवारी चालक तथा धनीलाई आग्रह गरेको छ।


कार्यालयले शनिबार सूचना जारी गर्दै विभिन्न मिति र समयमा गरिएको सवारी जाँचका क्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लङ्घन गरेका सवारी चालकलाई ऐनको दफा १६४ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र जरिवाना तिर्न निर्देशन दिइएको भए पनि तोकिएको समयभित्र जरिवाना नबुझाएका कारण नियन्त्रणमा रहेका कागजात फिर्ता लैजान आग्रह गरेको हो।


ट्राफिक प्रहरीले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र जरिवाना रकम बुझाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट आफ्ना लाइसेन्स, ब्लुबुक लगायतका कागजात फिर्ता लैजान अनुरोध गरेको छ।


कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले सूचना जारी गर्दै निर्धारित अवधिभित्र कागजात फिर्ता नलिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम ती कागजात बढीमा एक महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।


जिल्ला ट्राफिक प्रहरीले सम्बन्धित सबै सवारी चालक तथा सवारीधनीलाई समयमै जरिवाना बुझाई आवश्यक कागजात फिर्ता लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *