
नुवाकोट पुकार समाचारदाता
साउन १९ गते सोमबार ,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि भन्दै शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापकको नियुक्तिका लागि स्थानीय तहलाई पत्र पठाएको छ ।
समन्वय इकाईले आज सोमबार जिल्लाका १२ वटै स्थानीय तहलाई सम्बोधन गर्दै पठाएको पत्र अनुसार शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद १७ र नियम ९३ को प्रधानाध्यापक सम्बन्धि व्यवस्था बमोजिम प्रधानाध्यापक नियुक्ति नभएका र सेवा अवधि समाप्त भएका विद्यालयलहरुले नियम अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्रधानाध्यापक नियुक्त गर्न सहजीकरण गर्नु हुन भनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र( शासकीय सुधार शाखा)बाट पत्र प्राप्त भएको भन्दै त्यसको कार्यान्वयनका लागि अनुरोध गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र( शासकीय सुधार शाखा) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी परेपछि प्रधानाध्यापक नियुक्तिका लागि अख्तियार तथा राष्ट्यि सतर्कता केन्द्रले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत प्रअ नियुक्तिमा भैरहेको चलखेलप्रति चासो देखाएको थियो । सोही ताकेपछि केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई साउन ७मा पत्र पठाएको थियो । सोही पत्रका आधारमा ईकाइले सोमबार जिल्लात्रिका स्थानीय तहलाई प्रअ नियुक्तिलाई वैधानिक ढंगबाट अघि बढाउन आग्रह गरेको छ ।
जिल्ला भित्र रहेका ४सय ३९ विद्यालयहरुमध्ये धेरैजसो विद्यालयमा भने प्रधानाध्यापक नियुक्तिका लागि प्रतिस्पर्धा गराइएको छैन । विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा आफ्नो अनुकलको शिक्षकलाई प्रअमा नियुक्त गरिदै आएको छ । यसरी नियुक्त भएका प्रधानाध्यापकलाई शिक्षा समन्वय ईकाईले पाँच वर्षका लागि करार नियुक्ति प्रदान गरेकाहुन्छ । तर पाँच वर्ष पूरा भैसक्दा पनि सोही व्यक्ति प्रअमा लगातार गुनासो बारम्बार आउने गरेको भएपनि स्थानीय तहले भने त्यसमा कुनै चासो देखाएको छैन । जसका कारण सामूदायिक विद्यालयको सुधार र गुणरस्तीय शिक्षाका लागि महत्वपूर्ण भूमिका पूरा हुन सकेको छैन् । अझ कतिपय विद्यालयमा त राजनीति आडमा माथिल्लो तहमा स्थानीय शिक्षक हुँदाहुँदै पनि तल्लो तहका शिक्षकलाई प्रअ दिइएको देखिन्छ । प्रअ नियुक्तिको व्यवस्था अनुसार विद्यालयमा कार्यरत सिनियर शिक्षक प्रअ हुने व्यवस्था रहेको छ । तर यो नियम फलो गरिएको पाइदैन् ।
विद्यालय शिक्षा अन्र्तरगत प्रधानाध्यापक नियुक्तिका लागि सम्बन्धित स्थानीय तहले छुट्टै समिति गठन गरेको हुन्छ । उक्त समितिको अध्यक्षमा नगर वा गाउँ शिक्षा समितिका अध्यक्ष रहने व्यवस्था छ । समितिमा रहेका अध्यक्ष भने पालिकाका प्रमुख हुनेछन् । पालिका प्रमुखको अध्यक्षतामा गठिते समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष,सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सो समितिले तोकेका दुई जना विज्ञ सदस्य रहने व्यवस्था छ । विज्ञ सदस्यको हकमा भने माध्यमिक विद्यालयको शिक्षक र स्नाकोत्तर तह अध्ययन पूरा गरेको व्यक्तिलाई वार्षिक रुपमा सुचिकृत गरिने भन्ने व्यवस्था समेत रहेको छ ।
यस्तै समितिको सदस्य सचिवमा भने पालिका शिक्षा शाखा प्रमु्ख रहने छन् । उक्त समितिले पालिका स्तरमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था छ । यस्तै प्रधानाध्यापकका लागि पनि शिक्षा सास्त्र विषयमा कम्तीमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै कक्षा ८ सम्म चलेका आधारभूत विद्यालयका लागि शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने प्राथमिक तहका लागि शिक्षा विषयमा प्रविणता तह अर्थात कक्षा १२ उत्तर्णि गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाका आधारमा पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गरिने छ । तर माथि जे सुकै लेखिएको भएपनि विद्यालयमा माध्यमिक स्थायी शिक्षक नभएको खण्डमा भने पालिकास्तरीय शिक्षा समितिले अर्को व्यवस्थाका आधारमा प्रअ नियुक्त गर्ने अधिकार पनि प्रदान गरिएको छ । पालिकाहरुले आफैले निर्माण गरेको नियम अनुसार अधिकांश विद्यालयमा छनोट गरेका छैनन् ।
बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले यसअिघ विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्त गर्दै आएको र अब नगरपालिकाले शिक्षा विकास समन्वय इकाइको पत्रका आधारमा आवश्यक कार्यविधि बनाएर नयाँ र पूराना दुवै प्रअको नियुक्तिका लागि प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
यस्तै जिल्लाको विदुर, नगरपालिकलो पनि शिक्षा समन्वयका पत्र अनुसार अघि बढ्ने प्रतिवद्धता जनाएको छ , नगरपालिकाका मेयर राजन श्रेष्ठले भने हामीले यसअघि पनि आवश्यक प्रक्रियामार्फत नै प्रअ नियुक्ति गर्दै आएको जानकारी दिनुभयो । उहाँले त्रिभुवन त्रिशूलीमा प्रतिस्पर्धामार्फत प्रअ नियुक्त भएको र अन्य विद्यालयहरुमा पनि क्रम सोही अनुसार अघि बढाईने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले केन्द्रको पत्र प्राप्त भएकाले जिल्लाका सबै विद्यालयहरुलाई सोही अनुसार नयाँ नियुक्त गर्नुपर्ने भए पनि वा पूरानाको कार्यकाल सकिएको भए पनि आवश्यक प्रक्रियामार्फत नियुक्तिका लागि परिपत्र गरेको जानकारी दिनुभयो ।
उहाँले मुख्य रुपमा नमुना विद्यालयहरुले यो नियम कडाईका रुपमा लागु गर्नुपर्ने भएपनि त्यसबारेमा भए नभएको आफूले विवरण मागेको र एकदुई दिन भित्रमा सबै विवरण प्राप्त हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,प्रअ भएको पाँच वर्ष पूरा भएको खण्डमा फेरि हुन पाईदैन भन्ने होइन तर प्रतिस्पर्धामा छनोट हुनुपर्दछ भन्ने हो, आफू भन्दा अरु सक्षम आउन सक्ने भएकाले पनि पाँच वर्षका लागि करार नियुक्ति गरिएको हो, उहाँले भन्नुभयो, । प्रमुख इटानीले आवश्यक प्रक्रियालाई लागि पत्र पठाइएको भन्दै प्रक्रिया पूरा नगरि नियुक्त भएका प्रअहरुलाई भने हटाउन सकिने बताउनुभयो ।
१२ पालिका रहेको नुवाकोट जिल्लामा४सय ३९ विद्यालय रहेका छन् । जसमध्ये कक्षा १ देखि ३ सम्म १४५,कक्षा १ देखि ५ सम्म १०३,कक्षा १ देखि ८ सम्म ५८, कक्ष १ देखि १०सम्म ७१ र कक्षा १ देखि १२ सम्म ६२ विद्यालय रहेका छन् ।
