
– किशोर वली ,
साउन २७ गते मंगलबार ,बेलकोटगढी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१०, बेलकोटमा रहेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको प्रतीक निरञ्जना भगवती मन्दिरको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ ।
२०७९ साल चैत्र १४ गते वडा अध्यक्ष प्रल्हादप्रसाद थपलियाको नेतृत्वमा र स्थानीय समुदायको सक्रियतामा सुरु गरिएको अभियान आज पहिलो चरणमा पुग्दा, मन्दिरको संरचना दृढ, सुरक्षित र आकर्षक स्वरूपमा रुपान्तरण भएको छ ।
प्रारम्भदेखि मन्दिरलाई केवल एक धार्मिक स्थल मात्र नभई वडाको गौरव, सांस्कृतिक एकता र ऐतिहासिक धरोहरको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य राख्दै अगाडि बढाइएको थियो। वडा अध्यक्ष थपलीयाको पहलमा दातृ सहयोग संकलन, श्रमदानको समन्वय, निर्माणको प्राविधिक गुणस्तरमा ध्यान, र समयमै कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइएको छ ।
अब दोस्रो चरणमा ब्युटिफिकेसन अभियान हुनेछ । उक्त अभियान अन्तर्रगत मन्दिरको बाहिरी स्वरूपलाई अझ कलात्मक र भव्य बनाउने,वरपरको वातावरणलाई हरियाली र स्वच्छ बनाउने रहेको छ । यस्तै मन्दिरमा भक्तजनका लागि विश्रामस्थल, पानीको सुविधा र अन्य पूर्वाधार थपसहित रातको समयमा पनि आकर्षक देखिने गरी प्रकाश व्यवस्थापन गर्ने तयारी रहेको छ । मन्दिरमा सौन्दर्य थप गर्ने विषयम वडा अध्यक्ष थपलियाले भने—यो मन्दिर हाम्रो वडाको आस्था र पहिचान हो।

यसको संरक्षण र विकास केवल संरचनामा सीमित छैन, यो हाम्रो संस्कृतिको निरन्तरता र भावी पुस्ताका लागि एउटा अमूल्य सम्पदा हो । उक्त वडाको अभियानले नुवाकोटको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउने र वडालाई सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
अध्यक्ष थपलियाले सम्पूर्ण संघीय सरकार तथा प्रदेश सरकार र स्थानीय सरकार साथै श्रमदानकर्ता, भक्तजन र सहयोगी हातहरुका कारण सफल भएको भन्दै आगामी ब्युटिफिकेसन चरणमा पनि सबैको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
२०७२ सालको भुकम्पपछि मन्दिरको संरचनाहरु भत्किएका थिए । त्यसलाई क्रमश ः पुननिर्माण गरिदै आएको छ । उक्त मन्दिरमा बडा दशैंंमा जमरा राखेर नौं दिनसम्म पुजा गर्ने गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको निमार्णसँगै आन्तरिक तथा बाह््य पर्यटकहरु समेत आउने विश्वास स्थानीयहरुको रहेको छ ।