
२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैमात्र आफूले कांग्रेसमा संसदीय दलको नेता फेर्ने कथा सुनेर आएको बताउनु भएको छ ।
मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आज बिहान एक जना मान्छेले भेटेर नेपाली कांग्रेसको संसदीय दलको नेता फेर्नेगरी कसरत भइरहेको जानकारी गराएको बताउनु भयो । यस्ता कुराहरू हल्लामात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको आफूले बताएको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘
आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो– नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।यस्ता कथाहरू बेला बेला आइरहने भन्दै बेला बेलामा संस्करणहरू आइरहने तर संशोधन केही नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ।
उहाँले कसले त्यस्तो कुरा ससुनाएको भन्ने विषयमा भने खुलाउनु भएन् । पछिल्लो समय सम्भावना भएसम्म डा. शेखर कोइराला संसदीय दलको नेता बन्ने प्रयासमा छन् । तर उहाँले त्यो सम्भावना नभएकाले केही दिन अघि मात्रै वर्तमान सरकार ०८४ सम्मै जाने बताइसक्नु भएको छ । ०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि कांग्रेसले बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।दुवै पार्टीको बहुमत आउन नसके कांग्रेस र एमाले मिलेरै सरकार बनाउने बताउनुभयो ।
‘अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरू यो नठान्नुस् की कोही अर्को । तपाईंहरूलाई अहिले नै भनिदिन्छु,’ ओलीले भन्नुभयो, ‘कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–कांगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन ।’