
तस्बिर ः फाइल फोटो
विदुर । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा शिकार खेल्न गएकाहरुबाट बन्दु लोड गर्ने क्रममा पड्किएर एक जना गम्भीर घाइते भएका छन् , जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असार ९ गते रातको समयमा किस्पाङ गा.पा. वडा नं. ०१ बस्ने ४५ वर्षीय कुल बहादुर तामाङ २६ वर्षीय लालिमान तामाङ र बिजय तामाङ तीन जना मिलेर शिकार खेल्न गएका थिए ।
स्थानीय आईत लामाको बारीमा भरुवा बन्दुक लोड गरी शिकार खेल्न जाने क्रममा बन्दुक पड्किन गई बिजय तामाङ घाईते भएका थिए । घाइते भएका तामाङलाई उपचारको लागी अस्पतालमा पठाएको र कुल बहादुर तामाङ र लालिमान तामाङ पक्राउ गरी बिजय तामाङको घरमा लुकाई राखेको भरुवा बन्दुक थान–१, हातहतियार संग प्रमाण लाग्ने अन्य दशीका सामान समेत बरामद गरी निजहरुलाई हातहतियार तथा खरखजना सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट दिन–७ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।
साथै उनीहरुले चोरी शिकार गरी मारेको बन्यजन्तु दुम्सी थान १ घटनास्थलबाट मृत अवस्थामा बरामद गरेकोले निजहरुलाई बन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही, अनुसन्धान गर्न जिल्ला बन कार्यालयमा पत्राचार गरिएको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।