
काठमाडौं । साउन २८ बुधबार,गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। बुधबार (आज) सार्वजनिक गरिएको यस गीतमा छोरीमाथिको विभेद, पितृसत्तात्मक सोच र बुहारीका पीडालाई मुख्य विषयवस्तु बनाइएको छ। गीत सार्वजनिक भएको ६ घण्टामा ३ लाख ६५ हजारले हेरिसकेका छन् । ५२ हजारले लाइक गरेका छन् भने साढे ५ हजारले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उनको हालसम्मको भिउजलाई हिसाव गर्ने हो भने प्रति मिनेट ७ हजारले गीत हेरिरहेका छन् । सामाजिक सञ्जाल र टिकटकमा उक्त गीतमा धेरैले टिकटक बनाइरहेका छन् । जसले यो पटक पनि उनको गीतले राम्रै दर्शक पाउने अनुमान गर्न सकिन्छ । गीतमा विष्णु माझीको स्वर, सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ। ‘तिम्रै छोरो राम्रो म त नराम्रो’ भन्ने व्यंग्यात्मक शैलीबाट सुरु भएको गीतले महिलालाई घरका सबै जिम्मेवारी बोकाउने सामाजिक सोचको विरोध गरेको छ।
गीतले बच्चैदेखि बुहारीको भूमिकासम्मको मनोवैज्ञानिक पीडा, महिलालाई चुलोचौकामा मात्र सीमित गर्ने सोच, र हरेक दोषको भागिदार बनाइने अवस्थाबारे यथार्थ चित्रण गरेको छ। जन्मघरदेखि श्रीमानको घरसम्म फैलिएको विभेद र त्यसबाट मुक्तिको आशा गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा ललिता पौडेलको अभिनय, सम्भु चालिसेको सिनेमाटोग्राफी, प्रवीण भट्टको सम्पादन, मौसम हिमालीको कोरियोग्राफी तथा सुन्दरमणि अधिकारीकै निर्देशन रहेको छ।
भिडिओका लागि तलको लिंकका क्लिक गर्नुहोला