
काठमाडौँ। सरकारले नेपालको पहिलो सुरुङ मार्ग नाग ढुङ्गा सुरुङ प्रयोग लाग्ने शुल्क निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले सरकारले नाग ढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोकेको जानकारी दिनुभयो ।
जसअनुसार नाग ढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा कार, भ्यानहरूका लागि आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनिबस – मिनी ट्रकको काठमाडौँ आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ । यस्तै बस– ट्रकको हकमा काठमाडौँँ आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ तोकिएको छ । यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ सुरुङ मार्ग उपभोग दस्तुर तोकिएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।मन्त्रीपरिषद् बैठकले राष्ट्रिय कृत्रिम बौद्धिकता एआई नीति २०८२ स्वीकृत गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा कसैको दबाबमा नभई उहाँले स्वेच्छाले दिनुभएको बताउनुभयो । पत्रकारको प्रश्नमा सञ्चार मन्त्री गुरुङले सभापति खतिवडालाई राजीनामाका लागि कसैले बाध्य पारेको होइन भन्नुहुँदै छानबिन समितिको रिपोर्ट आएपछि उहाँले स्वेच्छाले नैतिक रूपमा राजीनामा दिनुभएको स्पष्ट पार्नुभयो ।
सञ्चार मन्त्री गुरुङले कुलिङ पिरियडका सम्बन्धमा छानबिन समितिको रिपोर्टका आधारमा कारबाहीको दायरामा ल्याउनुपर्ने सबैलाई नियम र कानुनको आधारमा कारबाही हुने पनि स्पष्ट पार्नुभयो ।यस्तै बैठकले सेवा प्रदायक मार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेको मन्त्री गुरुङले बताउनुभयो ।मन्त्रीपरिषद् बैठकले नेपालबाट हुने विभिन्न उच्च स्तरीय वैदेशिक भ्रमणहरू स्वीकृत गर्नुसँगै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रसहित विभिन्न व्यावसायिक प्रशिक्षण संस्थाका लागि अधिकृत स्तरका ७ सय २५ अस्थायी दरबन्दी स्वीकृत गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।