
प्रल्हादप्रसाद थपलीया, लेखक , (लेखक ः बेलकोटगढी वडा नं १० का वडा अध्यक्ष हुनुहुन्छ)
पृथ्वीनारायण शाहले नुवाकोटको नौकोट निर्माण अभियानअन्तर्गत बेलकोट स्थानमा गढी निर्माण गरेर नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए।
यो गढी करिब २,२०० मिटरको उचाइमास्थित छ र भूमध्यबाट जगाइएको एक प्रसिद्ध सैनिक अड्डा हो, जहाँबाट लाङटाङ, गणेश, जुगल, मानापाथी हिमालहरु देख्न सकिन्छ। २६ सेप्टेम्बर १७४४ मा पृथ्वीनारायण शाहले गोरखाली सेनासँग नुवाकोट कब्जा गरे।
यसले काठमाडौं उपत्यका एकीकरण अभियानको आधारशिला बन्यो। उक्त अभियानकै क्रममै, बेलकोटमा भएको मल्ल प्रतिरोधी कमाण्डर जयन्त राणा मगरलाइ पराजित गरियो र त्यस पछि उनको शरिरलाइ काठको खाटमा राखेर सम्मानपूर्वक हाल मौलो भएको स्थानमा राखिएको बताइन्छ ।
यसै गढीको मध्यभागमा निरञ्जना भगवती मन्दिर अवस्थित छ। पुराना अभिलेख र स्थानीय बासिन्दाको भनाइअनुसार यो मन्दिर कुनै ऐतिहासिक राजा वा शासकले भव्य ढङ्गले निर्माण गरेको थिएन। बरु स्थानीय समुदायले आफ्नो श्रद्धा, भक्ति र धार्मिक आस्थाका आधारमा सामान्य स्वरूपमा स्थापना गरेका थिए। वर्षौँदेखि स्थानीय बासिन्दाले यही सानो मन्दिरमा पूजा–अर्चना गर्दै आएका थिए, जसले गढीलाई मात्र नभई सम्पूर्ण बेलकोट क्षेत्रलाई धार्मिक र सांस्कृतिक आस्थासँग बाधिराख्यो तर समयको बहावसँगै यो पवित्र स्थललाई अझ व्यवस्थित र आकर्षक बनाउनुपर्ने आवश्यकता देखियो।
त्यसै क्रममा, २०७९ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको पहलमा निरञ्जना भगवती मन्दिरको भव्य पुनर्निर्माण र विस्तार कार्य आरम्भ गरियो।
यस पुनर्निर्माणले स्थानीयको लामो समयदेखि रहेको आकांक्षालाई पुरा मात्र गरेन, ऐतिहासिक बेलकोटगढीको गौरवलाई अझ बढयो आजको दिनमा निरञ्जना भगवती मन्दिर केवल एक धार्मिक स्थल मात्र नभई—समुदायिक एकताको प्रतीक, इतिहास र वर्तमानबीचको सेतु, र पर्यटन प्रवर्द्धनको आधारका रूपमा स्थापित भएको छ।
यसले बेलकोटगढीलाई धार्मिक–सांस्कृतिक गन्तव्यका रूपमा पनि चिनाउन सहयोग गरेको छ। यसको संरक्षणका लागि बेलकोटगढी नगरपालिकासहित यस वडाले पहिलो चरणमा दातृ सहयोग संकलन, श्रमदानको समन्वय, निर्माणको प्राविधिक गुणस्तरमा ध्यान, र समयमै कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइएको छ ।
अब दोस्रो चरणमा ब्युटिफिकेसन अभियान हुनेछ । उक्त अभियान अन्तर्रगत मन्दिरको बाहिरी स्वरूपलाई अझ कलात्मक र भव्य बनाउने,वरपरको वातावरणलाई हरियाली र स्वच्छ बनाउने रहेको छ । यस्तै मन्दिरमा भक्तजनका लागि विश्रामस्थल, पानीको सुविधा र अन्य पूर्वाधार थपसहित रातको समयमा पनि आकर्षक देखिने गरी प्रकाश व्यवस्थापन गर्ने तयारी रहेको छ । यो मन्दिर हाम्रो वडाको आस्था र पहिचान हो।
यसलाई हामी सबैले संरक्षण गर्ने र उचित प्रचार प्रसार गर्न सक्यौं भने यसले आन्तरिक तथा बाह्य पयर्टकलाई समेत आकर्षित गर्न सक्छ । जसले हाम्रो नगरपालिकाको विकासमा महत्वपूर्ण योगदान समेत पुग्नेछ ।