
– नुवाकोट पुकार समाचारदाता
भाद्र १ आइतबार विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशिल सदस्य नविकरण चलिरहेका बेला नुवाकोट जिल्लाको विदुर नगरपालिकाले नविकरणको काम सम्पन्न गरेको छ ।
नविकरण सम्पन्न गरेर पार्टीको जिल्ला समितिलाई नविकरण फाराम बुझाएको छ । तर कांग्रेस जस्तो पूरानो र लोकतान्त्रिक पार्टीभित्र क्रियाशिल सदस्य नविकरण गर्नेहरुको संख्या घट्दो क्रममा रहेको छ । विदुर नगरपालिकाभित्र यसअघि १४ औं महाधिवेशनमा भाग लिएका क्रियाशिल सदस्यहरु मध्ये झण्डै १७ प्रतिशतले नविकरण गरेका छैनन् । नेपाली कांग्रेस विदुर नगर कार्यसमितिका सचिव सुजन गजुरेलले दिनुभएको जानकारी अनुसार विदुर नगरपालिकाभित्र २८०७ क्रियाशिल सदस्य रहेकोमा हाल जम्मा २३०४ जनाले मात्रै नविकरण गरेका छन् ।
विदुर नगरपालिकाभित्रै ५०४ जनाले नविकरण गरेका छैनन् । सचिव गजुरेलका अनुसार जसमा १ प्रतिशत क्रियाशिल सदस्यको भने मृत्यु भएको छ । यस्तै शिक्षकले पनि नविकरण गरेका छैनन् । शिक्षकले दलको क्रियाशिल सदस्य बन्न नपाउने व्यवस्था अनुसार नगरभित्रका झण्डै ६० जना शिक्षकले नविकरण नगरेको सचिव गजुरेलले जानकारी दिनुभयो । कांग्रेसमा क्रियाशिल भएका मध्ये झण्डै १ सय ५० जनाले कांग्रेस परित्याग गरेका छन् । सरदर कुल १८ प्रतिशत नविकरण नगर्ने मध्ये ७ प्रतिशत भने नेपाली कांग्रेस परित्याग गरेका छन् ।
यस्तै ४ प्रतिशत सदस्य निश्क्रिय रहँदै नविकरणमा सहभागि भएका छैनन् । ५० जना विदेशमा रहेकाहरुको नविकरण गरिएको छैन् । कांग्रेसमा क्रियाशिल सदस्य नविकरण गरेका मध्ये ७० प्रतिशत कृषि पेशामा आवद्ध रहेको सचिव गजुरेलले जानकारी दिनुभयो । यस्तै बाँकी ३० प्रतिशत भने अन्य पेशा व्यवसायमा आवद्ध रहेका छन् । जसमा २० प्रतिशत जति युवा रहेका गजुरेलले बताउनुभयो ।
कांग्रेस जस्तो पूरानो पार्टीमा समेत क्रियाशिल सदस्य बन्न अनिक्षा जाहेर गर्नुले पूराना दलहरुप्रति जनातको विश्वास गुम्दै गएको अनुभूति हुन्छ । कांग्रेस विदुर नगर सभापति हरिलाल श्रेष्ठले पाटीभित्र त्याग, समर्पण र योगदानको कदर नहुँदा आम कार्यकर्ताहरुमा नैराश्यता उत्पन्न भएको बताउनुभयो ।
यस्तै कांग्रेसमा वास्तविक कार्यकर्ताको पहिचान गरेर तल्लो तह अर्थात ग्रास लेबलमा काम गर्ने, सामाजिक र राजनितिक रुपमा निस्कलंकितलाई कांग्रेसले क्रियाशिल सदस्य बनाउनुपर्ने सचिव गजुरेलको जोड रहेको छ । उहाँले पार्टीभित्र गुटको अन्त्य गर्दै सहकार्य सहमति मा सहअस्तित्वको भावनाले कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसले क्रियाशिल सदस्य नविकरण असोज मसान्तसम्म गरिसक्ने निर्णय गरिसकेको छ । असोजपछि फेरि नयाँ सदस्य वितरण गर्ने तयारी गरिएको छ ।
कांग्रेसको वर्तमान कार्यसमितिको म्याद यहि आउँदो मंसिरमा सकिनेछ । एक वर्ष सभापतिलाई थप गर्ने अधिकार रहेकाले अर्को एक वर्षसम्म कांग्रेस कार्यसमितिको कार्यकाल रहन्छ भने पुन ः ६ महिना थप गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । सो अनुसार ०८३ भित्र मात्रै महाधिवेशन हुने सम्भावना छ । तर यसभित्र पनि फेरि अर्को कुनै दललाई एकतामा सहभागि गराउन सके वर्तमान सभापति देउवा नेतृत्वको कार्यकाल पुन ः एक वर्ष थप हुनेछ ।
यस्तो अवस्था आएको खण्डमा ०८४मा हुने आवधिक निर्वाचनपछि मात्रै कांग्रेसको महाधिवेशन हुन सक्ने आँकलन पनि गरिदैछ । पूराना शक्तिलाई छाडेर नयाँ शक्ति रोज्नुपर्ने भन्दै सडक, चोक, गल्लीमा आवाज उठिरहेका बेला कांग्रेस जस्तो पार्टीभित्र समेत पार्टी नेता कार्यकर्ता र क्रियाशिलको उपस्थिति कम हुँदै जानुले सिंगो लोकतन्त्रका लागि नै खतरा सुरु भएको त छैन भन्ने आँकलन समेत गर्न थालिएको छ ।