
२ भदौ, काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए ।कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।
यस्तै रक्सी उत्पादन क्षेत्रमा प्रहरीको छापा, नेपाली नागरिकसहित ६७ जना पक्राउ गरिएको बताइएको छ । कुवेतको आन्तरिक मन्त्रालयले घटनापछि सञ्चालन गरेको व्यापक सुरक्षा अभियानमा मेथानोल उत्पादन तथा बिक्रीमा संलग्नलाई पक्राउ गरेको छ ।
कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ ।
पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् ।अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।
यसैबीच कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।कुवेती सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै कुवेती सञ्चारमाध्यमहरू मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुन ः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ । मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ ।(एजेन्सी)