
फाइल तस्बिर
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नागरिकताको सिफारिस अनिवार्य रुपमा अनलाइन प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार(आज) जिल्लाका ८८ वटै वडा कार्यालयलाई पत्र लेख्दै भदौं १५ गतेबाट नागरिकताको सिफारिसका लागि अनिवार्य रुपमा अनलाइन प्रणालीबाट गर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले आज जारी गर्नुभएको सूचना अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वितरण प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्ने तथा नागरिकताको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित गर्ने र प्रविधिमा आधारित बनाउने उदेश्यकासाथ स्थानीय तहबाट केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (ccims)मा निदिष्ट बमोजिम जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न अनलाइनमार्फत सिफरिस गर्ने व्यवस्था चालु आर्थिक वर्षको सुरुवातबाट गर्न सबै स्थानीय तहमा अनुरोध गरिएको उल्लेख गर्नुभएको छ ।
साथै साथै जिल्लाका सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृत तथा सबै वडामा वडा सचिव एवं वडा सहायक कर्मचारीहरुलाई गृह मन्त्रालयले भर्चुअल विधिबाट अभिमुखीकरण समेत सम्पन्न भएकाले सबै स्थानीय वडा कार्यालयहरुले भदौं १५ गतेबाट अनिवार्य रुपमा अनलाइनबाट सिफरिस गर्नका लागि भनिएको छ ।
जिल्लामा ८८ वडा मध्ये अधिकांशले यसअघि नै अनलाइनबाट सिफारिस गरेको भएपनि धेरै वडाले भने अनलाइनबाट गर्ने व्यवस्था गर्न सकेका थिएनन् । अब भदौं १५ बाट भने अनिवार्य भएसँगे वडाकार्यालयहरुले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको छ । जिल्लामा जिल्ला प्रशासन कार्यालय विदुर र इलाका प्रशासन कार्यालय सातबिसेबाट नागरिकता जारी हूँदै आएको छ ।
