
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाउनु भएको छ । बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आइतबार कार्यतालिका प्रकाशित गर्ने तयारी गरिरहेको छ । गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले आज निर्वाचनको कार्यतालिका निकाल्ने तयारी सचिवालयले गरेको छ ।
अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।