
काठमाडौं । एक सय भन्दा धेरैको मिर्गाैला बिक्रिमा संलग्न गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका ३८ वर्षिय श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।
भारतीय आधारकार्ड समेत बनाएर उनी विगत तीन वर्षदेखि भारतको नयाँदिल्ली बस्दै आएका थिए । सोझा र आर्थिक अवस्था कमजोर भएका नेपालीलाई फकाएर भारतमा लगी उनकै नेतृत्वको गिरोहले मिर्गाैला बिक्रि गर्दै आएको ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए । ‘सोधपुछको क्रममा उनले २५ जनाको मिर्गाैला झिक्न लगाई पैसा लिएको बताएका छन्,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी पंगेनीले भने,‘हाम्रो सूचनामा उनले एक सय भन्दा धेरैको मिर्गाैला बिक्रि गरिसकेका छन् ।’ भारतको यथार्थ अस्पताल तथा विभिन्न क्लिनिकमा यसरी मिर्गाैला निकाल्ने गरिएको प्रहरीले जनाएको छ । ६ लाख रुपैयाँ दिने भनेर लैजाने र कतिपयलाई त्यो पैसा पनि नदिने गरेको प्रहरीले जनाएको छ । सो गिरोहमा आबद्ध भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती–२ का सुजन भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसअघि गत २९ साउनमा पक्राउ परेका राकेश नेपाली, समिर नेपाली तथा राजकुमार नेपालीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा यो गिरोह पत्ता लागेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुलाई भारतबाटै पक्राउ गरी ल्याइएको हो । प्रहरीले भण्डारीलाई कञ्चनपुर तथा भारतीलाई वीरगञ्जमा पक्राउ गरिएको भनेर सार्वजनिक गरेको छ । सो गिरोहविरुद्ध पाँच जनाले प्रहरीमा जाहेरी दिइसकेका छन् ।