काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको पक्षबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै खारेजीको आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार इजलासबाट रिट खारेज गर्ने निर्णय भएको छ भने आदेशको पूर्ण लिखित प्रति सार्वजनिक हुन केही दिन लाग्नेछ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विष्णु पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीमाथि अनुसन्धान जारी रहेको छ र विशेष अदालतले बिहीबार तेस्रोपटक थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
पौडेलको पक्षले राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको थियो। तर सर्वोच्चबाट रिट खारेज भएपछि अनुसन्धान प्रक्रिया यथावत् अघि बढ्ने भएको छ।
यसअघि सर्वोच्च अदालतले यही प्रकरणसँग जोडिएका भनिएका व्यापारी दीपक भट्टलगायतसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाका कागजात झिकाउन आदेश दिएको थियो। ती कागजात अध्ययनपछि सम्बन्धित निकायमै फिर्ता पठाउने गरी अदालतले पेस गर्न निर्देशन दिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्