
बेलकोटगढी (नुवाकोट) । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० वडा कार्यालयको विशेष पहलमा असक्त तथा वृद्ध नागरिकलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य घरघरमै पुगेर सेवा प्रवाह गर्ने कार्यक्रम सुरु गरिएको छ।
अबदेखि असक्त तथा वृद्ध नागरिकलाई भत्ता नवीकरणका लागि वडा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। वडा कार्यालयको टोली स्वयं सेवाग्राहीको घरमै पुगेर सम्पूर्ण प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा शारीरिक असक्तता वा उमेरको कारण कार्यालय आउन कठिन हुने नागरिकलाई ठूलो राहत पुगेको छ।
यस सन्दर्भमा वडा अध्यक्ष प्रलाद थपलियाले भन्नुभयो: “हामीले सुरु गरेको यो पहल असक्त तथा वृद्ध नागरिकलाई लक्षित गरिएको हो। अब कसैलाई पनि कार्यालय धाउनुपर्ने झन्झट रहँदैन। हाम्रो टोली घरमै पुगेर सम्पूर्ण प्रक्रिया पूरा गर्छ। यसले नागरिकमैत्री सेवा प्रवाहमा नयाँ आयाम थपेको छ।”
यसबाहेक, बेलकोटगढी–१० का स्थायी बासिन्दा तर हाल काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गरिरहेका सेवाग्राहीलाई लक्षित गरी पनि विशेष व्यवस्था गरिएको छ। उनीहरूका लागि आगामी भाद्र २७ गते, शुक्रबार काठमाडौंको गणेशस्थानमा सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा उपलब्ध गराइने वडा कार्यालयले जानकारी दिएको छ।
स्थानीयवासीहरूले वडा कार्यालयले ल्याएको यस कार्यप्रणालीलाई स्वागत गरेका छन्। उनीहरूले असक्त र वृद्ध नागरिकलाई राहत दिने खालका कार्यक्रम निरन्तर हुनुपर्ने सुझाव पनि दिएका छन्।

