जनसंख्या घट्ने चिन्ताबीच विदुर–४ को नयाँ नीति : तेस्रो सन्तान जन्मिए २० हजार रुपैयाँ प्रोत्साहन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २०, शनिबार ०७:०८

घट्दो जन्मदर बढाउने उद्देश्यले पोषण भत्ता घोषणा, बदलिँदो सामाजिक–आर्थिक परिवेशमा नीति बहसको विषय बन्दै
विदुर, नुवाकोट। नेपालमा पछिल्ला वर्षहरूमा जन्मदर निरन्तर घट्दै गएको र अधिकांश परिवार एक वा बढीमा दुई सन्तानमै सीमित हुने प्रवृत्ति बढिरहेका बेला विदुर नगरपालिका–४ ले तेस्रो सन्तान जन्माउने दम्पतीलाई २० हजार रुपैयाँ प्रोत्साहनस्वरूप पोषण भत्ता उपलब्ध गराउने नीति ल्याएको छ।


वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नै यो व्यवस्था समावेश गरेको हो। वडाध्यक्ष निलमबाबु ढुङ्गेलका अनुसार एकै श्रीमान–श्रीमतीबाट तेस्रो सन्तान जन्मिए २० हजार रुपैयाँ पोषण भत्ता प्रदान गरिनेछ।


वडा कार्यालयका अनुसार पछिल्लो समय घट्दो जन्मदर, भविष्यमा हुन सक्ने जनसंख्या असन्तुलन तथा परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।


नेपालमा पछिल्ला वर्षहरूमा विवाह ढिलो गर्ने, वैदेशिक रोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा र स्वास्थ्यमा हुने उच्च लगानी तथा साना परिवारप्रतिको आकर्षणका कारण धेरै दम्पती एक वा बढीमा दुई सन्तानमै सीमित हुने गरेका छन्। तेस्रो सन्तान जन्माउने परिवार अहिले अपवादजस्तै बन्न थालेका छन्।


यही परिवेशमा विदुर–४ ले ल्याएको प्रोत्साहन कार्यक्रमलाई स्थानीय तहबाट जनसंख्या व्यवस्थापनसम्बन्धी नयाँ अभ्यासका रूपमा हेरिएको छ। यद्यपि विज्ञहरूले केवल नगद प्रोत्साहनले मात्र जन्मदर उल्लेख्य रूपमा बढाउन नसक्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, बाल हेरचाह तथा परिवारमैत्री सामाजिक सुरक्षाजस्ता पक्षलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन्।


जनसंख्या घट्दै जानु दीर्घकालीन रूपमा श्रमशक्ति, उत्पादन र आर्थिक गतिविधिमा असर पार्न सक्ने भए पनि सन्तान जन्माउने निर्णय अन्ततः प्रत्येक परिवारको व्यक्तिगत, सामाजिक र आर्थिक अवस्थासँग जोडिएको विषय भएकाले यस नीति प्रभावकारी हुने–नहुने विषय भने आगामी दिनमा देखिनेछ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *