बागमती कांग्रेसमा नयाँ शक्ति संघर्ष : बानियाँविरुद्ध फेरि लामा पक्ष सक्रिय, संसदीय दलद्वारा तीन लाइन ह्वीप जारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २०, शनिबार १४:३२

बजेट निर्माणमा सांसद बेवास्ता गरिएको आरोप, संसदीय दलदेखि मुख्यमन्त्री परिवर्तनसम्मको कसरत तीव्र


काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णायक चरणमा पुगेका बेला नेपाली कांग्रेस बागमती प्रदेशभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ।

प्रदेश संसदीय दलले बजेट पारित गराउन सबै सांसदलाई अनिवार्य उपस्थित हुन र सरकारको पक्षमा मतदान गर्न तीन लाइन ह्वीप जारी गरे पनि त्यसअघि नै दलभित्र नेतृत्व परिवर्तनको चर्चा तीव्र बनेको छ।


प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेको बजेटमाथि निर्णायक मतदान हुने भएपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले तीन लाइन ह्वीप जारी गरेका हुन्। तर ह्वीप जारी हुनु आफैंमा दलभित्रको असहज अवस्था झल्काउने संकेतका रूपमा हेरिएको छ।


कांग्रेसका एक समूहले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बजेट निर्माणमा आफ्नै सांसद र पार्टी नेतृत्वलाई बेवास्ता गरेको आरोप लगाएको छ। सुरुमा करिब ५८–६० अर्ब रुपैयाँको बजेट बन्ने भनिए पनि अन्ततः करिब ७० अर्ब रुपैयाँको बजेट ल्याइएको र त्यस प्रक्रियामा सांसदहरूको सुझावलाई प्राथमिकता नदिइएको उनीहरूको दाबी छ।


यही असन्तुष्टिलाई आधार बनाएर बानियाँलाई संसदीय दलको नेताबाट हटाउने र आवश्यक परे मुख्यमन्त्री परिवर्तनसम्मको तयारी भइरहेको चर्चा कांग्रेस वृत्तमा छ। प्रदेशसभा बैठकमा लामा पक्षका केही सांसद अनुपस्थित रहनुले पनि दलभित्रको दूरी बढ्दै गएको संकेत दिएको बताइन्छ।


यो विवादको अर्को रोचक पक्ष भनेको कांग्रेसको आन्तरिक गुटगत समीकरण हो। अहिले बानियाँ र बहादुरसिंह लामा दुवै नेता सभापति गगन थापा निकट मानिन्छन्। बानियाँ विशेष महाधिवेशनमा सक्रिय नभए पनि पछि गगन थापा समूहसँग निकट भएका थिए। उता लामा भने विशेष महाधिवेशनमा खुला रूपमा गगन पक्षमा लागेर सहमहामन्त्री बनेका नेता हुन्।


राजनीतिक रूपमा हेर्दा बानियाँ र लामाबीचको प्रतिस्पर्धा नयाँ होइन। गत साउन ९ गते तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि लामाले राजीनामा दिए र कांग्रेस तथा एमालेका ६४ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बने। त्यही घटनाको पुनरावृत्ति गर्दै अहिले लामा पक्षले बानियाँविरुद्ध रणनीति अघि बढाइरहेको चर्चा छ।


यससँगै पुरानो राजनीतिक प्रतिबद्धताको विषय पनि फेरि उठ्न थालेको छ। गत निर्वाचनमा नुवाकोट–२ बाट बहादुरसिंह लामालाई टिकट नदिई अर्जुननरसिंह केसीलाई टिकट दिँदा बदलामा मुख्यमन्त्री बनाउने आश्वासन दिइएको दाबी लामा पक्षको छ। सोही प्रतिबद्धता पूरा हुनुपर्ने उनीहरूको तर्क छ।

यसै विषयमा पूर्व मुख्यमन्त्री लामाले नुवाकोट पुकारसँग भने,उहाले न त सांसदहरुसँग न त हामी सँग बजेटका विषयमा छलफल गर्नुभयाे, ५८/६० अर्ब बजेट ल्याउने भनेर ७० अर्ब पुग्याे,हामी हटाउनेपक्षमा तथिएनाै,उहाँको गतिविधिका कारण दलधित्र गम्भीर रुपमा छलफल हुने अवस्था आउने देखिएकाे छ ।


यद्यपि बानियाँ अहिले बागमती प्रदेश कांग्रेसका सभापति पनि हुन्। त्यसैले उनलाई हटाउने प्रयास सफल भए पार्टीभित्र नयाँ शक्ति सन्तुलन बन्नेछ भने असफल भए बानियाँको नेतृत्व अझ बलियो बन्ने विश्लेषण भइरहेको छ।


बागमती प्रदेशसभाको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी छ। २०८४ सालमा प्रदेशसभा निर्वाचनसँगै वर्तमान कार्यकाल सकिने भएकाले बाँकी अवधिमा नेतृत्व परिवर्तन हुन्छ कि सरकारलाई निरन्तरता दिइन्छ भन्ने प्रश्नले कांग्रेसभित्रको राजनीति थप रोचक बनेको छ। बजेट पारित गर्ने चरणमा देखिएको यो शक्ति संघर्ष आगामी निर्वाचनअघिको राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा समेत हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *