
काठमाडौँ । मुलुक संवेधानिक प्रक्रियाबाट नै अघि बढ्ने सुनिश्चितता भएपछि अन्तत ः मुलुकका प्रमुख तीन दल पनि निर्वाचनका लागि तयार भएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्राय ः सबै दल सकारात्मक देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो ।
उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् । प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायत दलका नेताहरू पनि निर्वाचनप्रति सकारात्मक देखिएका छन् । उनीहरूका पछिल्ला वक्तव्य र नेताहरूका अभिव्यक्तिले दलहरू तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा देखिएको प्रस्टै बुझ्न सकिन्छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार धारणा सार्वजनिक गर्दै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा जिम्मेवार र लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।‘अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ’, महामन्त्री थापाले भनेका छन् ।एमालेले पनि तोकिएको समयमा निर्वाचन भए सघाउन तयार रहेको जनाएको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय अनुगमनपछि महासचिव शंकर पोखरेलले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढेमा सहयोग गर्न तयार रहेको बताए । ‘यो सरकार अन्तरिम सरकार भएकाले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने काममा सरकारको ध्यान जाओस्’, महासचिव पोखरेलले भने ।यस्तै नेकपा माओवादी केन्द्र पनि निर्वाचनप्रति सकारात्मक नै देखिएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार बनेको र चुनावको मिति घोषणा भइसकेकाले घोषित मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।‘अन्तरिम सरकार बनिसकेको र चुनावको मिति समेत घोषणा भइसकेको अवस्थामा हामीले अब घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आजको आवश्यकता हो’, श्रेष्ठले भने । अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ताजा जनादेशमा जानुपर्ने बताएको छ । समयमै निर्वाचन गरेर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्नेमा रास्वपाको जोड छ ।
रास्वपा यसअघिनै निर्वाचनको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसेको छ । राप्रपा लगायतका पार्टीहरु पनि निर्वाचनका पक्षमा नै उभिएका छन् ।