
काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८.३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै हुनुहुन्छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
यस्तै देशभरका ७७ वटै जिल्लाहरुमा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना भैरहेको खबर प्राप्त भएको छ ।
नुवाकोट जिल्लामा पपनि संविधान दिवस मुल समारोह समितिको आयोजनामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो ।