दुई पटक गाउँपालिका अध्यक्ष निर्वाचित तेजबहादुर तामाङ मेयरको दौडमा; संविधानले सोही पदमा मात्र दुई कार्यकालको सीमा तोकेको व्यवस्था
नुवाकोट, असार २१ — पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेपछि नुवाकोटको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
दुई कार्यकाल गाउँपालिका अध्यक्ष भइसकेका तामाङले मेयरमा चुनाव लड्न पाउने वा नपाउने विषयमा विभिन्न टिप्पणी भइरहेका बेला संविधानको व्यवस्था भने स्पष्ट देखिन्छ।
नेपालको संविधान–२०७२ को धारा २१५(७) ले दुई कार्यकाल गाउँपालिका अध्यक्ष निर्वाचित भएको व्यक्ति पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। त्यसैगरी धारा २१६(७) अनुसार दुई कार्यकाल नगर प्रमुख निर्वाचित भएको व्यक्ति पुनः सोही पदमा उम्मेदवार बन्न पाउँदैन।
यसको अर्थ, संविधानले ‘स्थानीय तहमा जम्मा दुई कार्यकाल’ भनेको होइन, ‘उही पदमा दुई कार्यकाल’ को सीमा तोकेको हो। त्यसैले दुई पटक गाउँपालिका अध्यक्ष भइसकेका व्यक्ति नगरपालिकाको प्रमुख (मेयर) मा उम्मेदवार बन्न कानुनी र संवैधानिक रूपमा रोक छैन।
तामाङले विदुर नगरपालिका–२ मा आयोजित कार्यक्रममा मेयरमा चुनाव लड्ने घोषणा गर्दै आफू दुई कार्यकाल गाउँपालिका अध्यक्ष भइसकेकाले पुनः अध्यक्षमा उठ्न नमिल्ने धारणा राखेका थिए। तर सो क्रममा उनले संविधानको धारा उल्लेख गर्दा त्रुटि गरेका थिए। स्थानीय तहको कार्यपालिका सम्बन्धी व्यवस्था रहेको धारा २१५ को सट्टा उनले धारा २५६ उल्लेख गरेपछि त्यसबारे पनि चर्चा भएको छ। यद्यपि उनले अघि सारेको मूल निष्कर्ष—गाउँपालिका अध्यक्षबाट नगर प्रमुखमा उम्मेदवारी दिन मिल्ने—संवैधानिक व्यवस्थासँग मेल खान्छ।
पञ्चकन्यामा लगातार दुई कार्यकाल निर्वाचित तामाङ नेकपा निकट, पार्टीप्रति प्रतिबद्ध र अन्य राजनीतिक दलसँग पनि समन्वय गरेर अघि बढ्न सक्ने नेताका रूपमा परिचित छन्। विकास निर्माणका काम र राजनीतिक सक्रियताका कारण समर्थकबाट प्रशंसा पाएका उनी कार्यशैली र निर्णय प्रक्रियाका विषयमा आलोचनाबाट भने मुक्त छैनन्। उनी नेकपाबाट नै उम्मेदवार बन्न खाेजेकाे कारण विदुरमा नेकपाकाे बलियाे उम्मेदवार नभएको र नेतृत्व तहबाटै त्यस्तो प्रस्ताव आएकाे हुनसक्ने अनुमान गरिएको छ। मेयरमा वर्तमान उपमेयर प्रभा बाेगटीकाे पनि दाावी छ,तर नेेतृत्वले उनलाई पुन उपमेयर नै कायम गराउने तयारीमा लागेकाे बुझिएको छ ।
उनको विदुर केन्द्रित राजनीतिक यात्रा सफल हुन्छ वा हुँदैन भन्ने निर्णय मतदाताले गर्नेछन्। तर संविधानको वर्तमान व्यवस्थाअनुसार भने दुई कार्यकाल गाउँपालिका अध्यक्ष भइसकेको व्यक्तिले नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन पाउने विषयमा कुनै संवैधानिक अवरोध देखिँदैन। त्यसैले तामाङको घोषणा केवल चुनावी रणनीतिमा सीमित नभई स्थानीय तहको दुई कार्यकाल सम्बन्धी संवैधानिक व्यवस्थाबारे पनि नयाँ बहसको विषय बनेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्