धनकुटा, २१ असार – प्रमुख प्रतिपक्षी दल कांग्रेसमा विग्रहकाे परिणाम देखिन थालेको छ । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेससँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
समानुपातिकतर्फबाट दोस्रो संविधानसभामा निर्वाचित भएकी ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले पार्टी केन्द्रीय समितिलाई पत्र पठाउँदै पार्टीभित्र काम गर्न अनुकूल वातावरण नरहेको तथा पछिल्ला वैचारिक असहमतिका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन्।
उनीहरूसँगै क्षेत्रीय तहका पदाधिकारी, प्रतिनिधि तथा क्रियाशील सदस्यहरू गरी १७ जनाले पनि सामूहिक रूपमा कांग्रेस छाडेका छन्। सामूहिक राजीनामापछि धनकुटाको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
पार्टी त्यागको निर्णयबारे प्रतिक्रिया दिँदै ताम्लीले वर्तमान अवस्थामा कांग्रेसभित्र आफूलाई सहज रूपमा काम गर्न नसक्ने अवस्था बनेको बताइन्। समयसँगै आफ्नो भूमिका खुम्चिँदै गएको अनुभूति भएको र आफूलाई साथ दिने नेता–कार्यकर्ताहरूको दबाबले पनि पार्टी छाड्ने निर्णयमा पुगेको उनको भनाइ छ।
उनले कांग्रेसभित्र रहेको “दास र लास” भन्ने राजनीतिक संस्कृतिप्रति असन्तुष्टि जनाउँदै नेता गगन थापाले उठाउँदै आएको पार्टीभित्रको राजनीतिक संस्कृतिसम्बन्धी बहससँग आफ्नो निर्णय जोडिएको पनि उल्लेख गरेकी छन्।
पार्टी छाडेका नेताहरूले अब कुन राजनीतिक दल रोज्ने भन्नेबारे औपचारिक घोषणा गरेका छैनन्। यद्यपि उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा भने धनकुटाको राजनीतिक क्षेत्रमा चलिरहेको छ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्