
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन्। यही क्रममा उनले काठमाडाैं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन्।
यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ।
छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए।
नेताहरुलाई सम्बोधन गर्दै डा. महतले भने, ‘पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ। गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ।’
यसैबीच दशैंलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ। उक्त बैठकले संगठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा पुनः उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्।
राजनीतिक विश्लेषकहरूको भनाइमा, ‘डा. महतको सक्रियता कांग्रेसलाई आगामी निर्वाचन र आन्दोलनमा बलियो नेतृत्वका रूपमा प्रस्तुत गर्ने आधार बन्न सक्छ।’
विज्ञहरूले यस छलफललाई केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरणका रूपमा लिएका छन्। डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार, यो पहल कांग्रेसलाई असन्तुष्टिबाट निकाल्दै संगठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिन सक्ने सम्भावित टर्निङ प्वाइन्ट हो।