काठमाडौं, असार २१ – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउन निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित चारबुँदे निर्णय गरेको हो।
निर्णयअनुसार महाधिवेशनमा पेपरलेस निर्वाचन प्रणाली लागू गर्ने लक्ष्यका साथ डिजिटलाइजेशन र ईभीएम प्रविधिलाई प्राथमिकताका साथ अघि बढाइनेछ। साथै, निर्वाचन प्रक्रिया सुरु भएपछि विधानमा अन्यथा व्यवस्था भएको बाहेक निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिसहित सबै तह र निकायलाई आग्रह गर्ने निर्णय गरिएको छ।
त्यसैगरी काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाभित्रका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाइने निर्णय पनि गरिएको छ।
निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवक आह्वान गरी रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण कार्यक्रममार्फत प्रशिक्षण दिएर आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्