काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले राखेका दुई विषय आफूले पूरा गर्न नसक्ने बताएका छन् । कांग्रेसको संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले १४ औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र अद्यावधिक नगर्ने विषयलाई आफूले स्विकार्न नसक्ने बताएका हुन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा.शेखर कोइराला समूहले १११ केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने र क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने माग राख्दै आएका छन् ।
‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगरीकन चलाऊँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाप हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ सभापति थापाले भने– ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्र समिति बनिसक्यो । यो सबैको केन्द्र समिति हो । सभापतिले पाएको अधिकार अनुसार बढी भन्दा बढी साथीहरूलाई सहभागी गराउने कुरा यो जिम्मेवारी कुरा म गरिहाल्छु । तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ त्यो सबै साथीहरूलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने कुरा चाहिँ त्यो विधानले नदिने कुरा गर्नु पनि हुँदैन ।’
सभापति थापाले १५औँ महाधिवेशनलाई सबैको बनाउन महाधिवेशनको तिथि मितिमा छलफल गर्न, सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति इतर समूहले चाहे अनुसारको बनाउन तयार रहेको बताए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्