भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको छ।
गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी १ लाख २९ हजार १ सय १४ परीक्षार्थीमध्ये ८३ हजार ५ सय २३ जना वर्गीकृत (उत्तीर्ण) भएका छन्। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यसपटक पूरक परीक्षाको उत्तीर्ण प्रतिशत ६४.६८ रहेको छ।
पूरक परीक्षाको नतिजासँगै यस वर्षको एसईईमा समग्र उत्तीर्ण प्रतिशत ८५.३७ पुगेको बोर्डले जनाएको छ। नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। मूल परीक्षामा ननग्रेडेड भएका र ग्रेडवृद्धिका लागि योग्य १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी भएका थिएनन्।
परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) तथा विभिन्न सूचना र टेलिफोन सेवा प्रदायकका वेबसाइट, आईभीआर, एसएमएस र यूएसएसडी सेवामार्फत नतिजा हेर्न सक्नेछन्। साथै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ।
प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका पुनः परीक्षण तथा प्रतिलिपि हेर्नका लागि असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन सक्ने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिएका छन्। यससम्बन्धी विस्तृत सूचना परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा उपलब्ध रहेको बोर्डले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्