काठमाडौं, असार २३ : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले मंगलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल–एडीबीबीचको विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार करिब आधा घण्टा चलेको भेटमा नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम विकास सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक संवाद भएको थियो। दुवै पक्षले आगामी दिनमा पनि आपसी सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालले विकासको नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो। साथै जलविद्युत्, पर्यटन, डिजिटल प्रविधिको विस्तार तथा पर्यटकीय सडक पूर्वाधार विकासमा एडीबीसँग सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।
एडीबी अध्यक्ष मासातो कान्डाले नेपालमा विकास सहयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर साथ रहने बताउनुभयो।
उहाँले नेपालको आर्थिक सम्भावना, युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालले अघि बढाएको विकास यात्रामा एडीबी सधैं सहयोगी रहने विश्वास व्यक्त गर्नुभयो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्