काठमाडौं : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले शक्तिशाली व्यक्तिहरूलाई उन्मुक्ति दिने तर सामान्य नागरिकमाथि कडा कारबाही गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत भएको बताए।
राईले प्रधानमन्त्रीको आलोचना गरेको आरोपमा एक युवालाई हिरासतमा राखिएको प्रसंग उल्लेख गर्दै मन्त्रीले सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिँदा वा सांसदले प्रहरीलाई सडकमा घिसार्ने चेतावनी दिँदा किन कानुनी कारबाही नहुने भन्ने प्रश्न उठाए। कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने उनको भनाइ थियो।
उनले नागरिकलाई गल्ती सच्याउने अवसर दिनुपर्ने उल्लेख गर्दै राज्यले प्रतिशोधको भावनाले काम गर्न नहुने धारणा राखे।
सरकारको पछिल्लो कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै अराजकतालाई प्रोत्साहन गरेको उनको आरोप थियो।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिबारे संसद्मा आएर स्पष्ट पार्नुपर्ने भन्दै सभामुखमार्फत रुलिङको मागसमेत गरे। लोकतन्त्रमा नियम सबैका लागि समान हुनुपर्ने र त्यसको पालना नभए शासन प्रणालीमाथि नै प्रश्न उठ्ने उनले बताए।
त्यसैगरी, सुर्खेत जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधेर राखिएको घटनाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। शान्तिका प्रतीक गौतम बुद्धको मूर्तिलाई त्यसरी राखिनु गम्भीर र संवेदनशील विषय भएकाले सरकारले तत्काल छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने उनको माग थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्