‘गगनजीलाई म्यासेज गर्दा पनि जवाफ आएन, अब राष्ट्रिय भेला गरौँ’ : डा. महत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २५, बिहीबार ०७:३८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको संस्थापन पक्षबाट एकताका लागि कुनै सकारात्मक पहल नदेखिएकाले संस्थापन इतर समूहले अब राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका छन्।


बुधबार चुनदेवीमा जारी संस्थापन इतर समूहको बैठकलाई सम्बोधन गर्दै महतले पार्टीभित्रको अन्योल धेरै लम्बिन नहुने भन्दै आजै राष्ट्रिय भेलाको मिति तय गरेर सार्वजनिक गर्न आग्रह गरे।


उनले भने, “यहाँ उपस्थित साथीहरूको मात्रै होइन, पार्टीभरका धेरै नेता–कार्यकर्ताको चासो र भावना यही हो। आजै राष्ट्रिय भेलाको मिति तोकौँ र भोलि पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरौँ। अर्को बाटोमा जानु सुखद विकल्प होइन।”


महतले पार्टीभित्र सहमति कायम गर्न आफूले सभापति गगन थापासँग पटक–पटक संवादको प्रयास गरेको दाबी गरे। १५औँ महाधिवेशन निष्पक्ष बनाउन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने संयन्त्र गठनको प्रस्ताव आफूले राखेको तर संस्थापन पक्षले स्वीकार नगरेको उनको भनाइ थियो।


उनले गगन थापासँग भएको संवादबारे खुलाउँदै भने, “मैले गगनजीलाई फोन गरेर मिलाउनुपर्छ भनेँ। उहाँले ‘हुन्छ नि दाइ’ भन्नुभयो। तर त्यसपछि कुनै खबर आएन। मैले ह्वाट्सएप र म्यासेज गर्दा पनि जवाफ आएन। पछि रिसेप्सनमा भेट हुँदा हाँस्दै ‘के–के भयो, भयो दाइ’ मात्र भन्नुभयो।”


महतले साउन ६ गतेको बीपी स्मृति दिवसका अवसरमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने र साउन २५ भित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव पनि राखे।


उनले संस्थापन पक्षबाट सहमतिका लागि कुनै ठोस संकेत नआएकाले संस्थापन इतर समूहले अब समयमै स्पष्ट र कडा राजनीतिक निर्णय लिनुपर्ने अवस्था आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *