गणेश नेपालीको निधनपछि कांग्रेस सभापति गगन थापाको अपिल: दोषारोपण होइन, आत्मचिन्तन गरौँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २६, शुक्रबार १४:४७

काठमाडौं। राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि नेपाली कांग्रेसका नेता गगन थापाले गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षणको रूपमा टिप्पणी गरेका छन्।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।


उनले यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै अहिलेको आवश्यकता पीडित परिवारलाई साथ र सहयोग गर्नु रहेको बताएका छन्। उनका अनुसार गणेश नेपालीका आश्रित परिवारको दुःख कम गर्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने समय आएको छ।


थापाले विगत वा वर्तमान कसको दोष भन्ने विवादभन्दा पनि यस्ता घटनाले राज्य सञ्चालन, सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वबारे गम्भीर आत्मचिन्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


उनले एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्यो, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो, राज्यका सेवा र संयन्त्रले नागरिकलाई किन भरोसा दिलाउन सकेनन् भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्नुपर्ने बताएका छन्।


भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *