दिग बिजय अधिकारी , विदुर, नुवाकोट, असार २६ — पछिल्लाे समय बर्डफ्लु (एभियन इन्फ्लुएन्जा ) रोगको सम्भावित जोखिम बढ्दै गएको सन्दर्भमा नुवाकोट जिल्लामा यसको पूर्वतयारी, रोकथाम तथा नियन्त्रणका प्रयासलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यले शुक्रबार जिल््लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“बर्डफ्लु रोकथाम र आगामी प्रयास” विषयक उक्त कार्यक्रम विदुर नगरपालिकाको सभाहलमा आयोजना गरिएको हो। कार्यक्रमको आयोजना बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति, नुवाकोटले गरेको थियो भने सह–आयोजकका रूपमा नुवाकोट पोल्ट्री व्यवसायी संघ र नुवाकोट अण्डा व्यवसायी संघ रहेका थिए। कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो नुवाकोट एफएमले गरेको थियो।
कार्यक्रममा जिल्लाभित्र बर्डफ्लु रोगको सम्भावित जोखिम, हालको अवस्था, रोग फैलिन नदिन अपनाउनुपर्ने जैविक सुरक्षा (बायो–सिक्युरिटी) का उपाय, रोग पहिचान तथा निगरानी प्रणाली, प्राविधिक व्यवस्थापन, स्थानीय तहको भूमिका, अन्तरनिकाय समन्वय तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
अन्तरक्रियामा पशु सेवा कार्यालय नुवाकोट रसुवाका का प्रमुख डाक्टर निशान्त गेलालमा , स्थानीय तहका पशु सेवा शाखा, पशु स्वास्थ्य प्राविधिक, पोल््ट्री व्यवसायी, अण्डा उत्पादक, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जिल््लामा व्यावसायिक कुखुरापालन विस्तारसँगै बर्डफ्लु संक्रमणको जोखिमलाई समयमै पहिचान गरी आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए।
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति, नुवाकोटका संयोजक शम्भु प्रसाद रेग्मीको अध्यक्षतामामा भएको कार्यक्रममा नेपाल भेटनरी एशोसियनका केन्द्रिय अध्यक्ष डाक्टर केदार सुवेदी , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक बिपिन रेग्मी , बिदुर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाकर रेग्मी , बिदुर नगर पालिकाका वडा नम्वर ६का वडा अध्यक्ष श्याकृण्ण चालिसे , बिदुर ११का वडा अध्यक्ष बाबूराम तमाङ , त्रिशुली अस्पतालका निर्देशक डाक्टर राजेन्द्र लामा, किस्पाङ गाउ पालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर प्रेम जि एम, बिदुर नगर पालिकाका पशु सेवा शाखा प्रमुख सुजता अधिकारी , नुवाकोट पोल्ट्री व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र रिजाल , नुवाकोट अण्डा व्यवसायी संघका अध्यक्ष रमेश चित्रकार ,लगायत बिभिन्न पालिकाक पशु प्रावधिकहहरु र वक्ताहरूले बर्डफ्लु रोग नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, व्यवसायी तथा किसानबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरे। रोगको शंका लागेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने, संक्रमित वा शंकास्पद पक्षीको सुरक्षित व्यवस्थापन गर्ने, फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिएको थियो।
कार्यक्रममा स्थानीय तहमा पशु स्वास्थ्य सेवा प्रवाह तथा रोग नियन्त्रणमा प्रत्यक्ष रूपमा संलग्न प्राविधिकहरूको अनुभव आदान–प्रदान गरिएको थियो। सहभागी प्राविधिकहरूले विगतका अनुभव, देखिएका चुनौती, आवश्यक स्रोत–साधन तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले नियमित अनुगमन, द्रुत सूचना प्रणाली, प्रयोगशाला परीक्षणको पहुँच विस्तार तथा आकस्मिक प्रतिकार्य योजनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
नुवाकोट जिल्ला पोल्ट्री उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले सम्भावित बर्डफ्लु संक्रमणले किसान, व्यवसायी तथा समग्र कृषि अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भएकाले समयमै पूर्वतयारी र समन्वित प्रयास आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रममा सम्बन्धित निकायहरूबीच सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउने, स्थानीय तहसँग समन्वय बढाउने, पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा बर्डफ्लु रोग नियन्त्रणका लागि साझा कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
आयोजकका अनुसार जिल्लामा बर्डफ्लु रोगको जोखिम न्यूनीकरणका लागि यस्ता अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम तथा प्राविधिक क्षमता अभिवृद्धिका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। सहभागीहरूले समयमै तयारी, प्रभावकारी समन्वय र सबै सरोकारवालाको सक्रिय सहभागिताबाट मात्र बर्डफ्लु रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्