नबिल बैंकको ४२औँ वार्षिकोत्सव सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २८, आईतवार १५:०३

काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे। विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको र त्यो विश्वास भएको उनले बताए।


अध्यक्ष चौधरीले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।”
उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए। “हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ। ‘एनबैंक’ (nBank) एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,” अध्यक्ष चौधरीले भने, “नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ। आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम (Financial Ecosystem) प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनए ९म्ल्ब्० मै छ।”

सम्बोधनका क्रममा अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरे। एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनले बताए।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बैंकको सुखद यात्रामा अनवरत साथ र सहयोग दिने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गरे। सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ कर्मचारीको निष्ठाका कारण यो गौरवमय उचाइसम्म आइपुगेको उनले बताए। “यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं। हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं। हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड,” सीईओ ज्ञवालीले भने।


ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको छ। देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको बैंकले हालसम्म कृषि क्षेत्रमा रु। ५३ अर्ब ३१ करोड ,ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड ,लघु, घरेलु, साना तथा मझौला उद्योग ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा रु ११ अर्ब, १० करोड लगानी गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *