देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको नयाँ नेतृत्व चयन, डा. लोहनीले भने– ‘ज्येष्ठ नागरिकको सम्मान सभ्य समाजको आधार हो’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार ०५:४५

नुवाकोट । नुवाकोटको देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको १६औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।

जिल्लाकै प्रतिष्ठित सामाजिक संस्थाका रूपमा परिचित प्रतिष्ठानलाई नुवाकोटका अग्रज बौद्धिक तथा सामाजिक व्यक्तित्वहरूको निरन्तर साथ र सहयोग रहँदै आएको छ। साथै संघीय, प्रदेश तथा स्थानीय सरकारबाट पनि संस्थाले आवश्यक सहयोग प्राप्त गर्दै आएको छ।


प्रतिष्ठानका दानवीरदाता बाबुराम शर्मा अधिकारीको प्रमुख आतिथ्यता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै डा. लोहनीले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सेवा सभ्य समाजको मूल आधार भएको उल्लेख गरे। उनले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले ज्येष्ठ नागरिकको संरक्षण, सेवा र अध्ययन–अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। यस्ता संस्थालाई राज्य, समाज र निजी क्षेत्र सबैको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै सेवा भावलाई अझ सशक्त रूपमा अगाडि बढाउन आग्रह गरे।


कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति, सल्लाहकार समिति, आजीवन सदस्य, समाजसेवी, बुद्धिजीवी, दानवीरदाता, आश्रमका ज्येष्ठ नागरिकलाई विभिन्न समयमा खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएका सहयोगी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


अधिवेशनबाट पुनः विष्णुप्रसाद नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा गोविन्द चित्रकार, सचिवमा रामशरण थापा, सहसचिवमा मोतिराम न्यौपाने, कोषाध्यक्षमा बिनादेवी अर्याल तथा सदस्यहरूमा शिव गजुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, बसन्तजंग ठकुरी, बलराम अधिकारी, रामकृष्ण भट्टलगायत चयन भएका छन्।
त्यसैगरी सोमप्रसाद भण्डारीको संयोजकत्वमा ४१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।


कार्यक्रममा शिव गजुरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अन्त्यमा अध्यक्ष विष्णुप्रसाद नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतिथि, दानदाता, सहयोगी, पत्रकार तथा उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै १६औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको घोषणा गरेका थिए।

साथै कार्यक्रममा दिइएको जानकारी अनुसार प्रतिष्ठानले सुविधा सम्पन्न अस्पताल निर्माणकाे तयारी थालेको छ ।जेष्ठ नागरिक केन्द्रीय अस्पताल निर्माणका लागि अध्यक्ष नेपालले सहयाेगकाे अपेक्षा व्यक्त गर्नुभएको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *