कांग्रेस एकताको नयाँ सूत्र अघि सार्दै कान्छाराम तामाङ : अर्जुननरसिंहको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशन गराैँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार ११:५३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि नयाँ प्रस्ताव सार्वजनिक भएको छ। नेपाली कांग्रेस रामेछापका निलम्बित सभापति तथा देउवा पक्षका नेता कान्छाराम तामाङले पार्टी एकताका लागि वरिष्ठ नेता अर्जुननरसिंह केसीको नेतृत्वमा तदर्थ समिति गठन गरी महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।


तामाङका अनुसार लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता र विभिन्न गुटबीच स्वीकार्य छविका कारण अर्जुननरसिंह केसी तदर्थ समितिको नेतृत्वका लागि उपयुक्त व्यक्ति हुन्। उनले केसीसँग पञ्चायतकालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय अनुभव रहेको र पार्टीका अधिकांश नेताकार्यकर्ताले सम्मान गर्ने व्यक्तित्व भएकाले उनको नेतृत्वमा सहमतिको वातावरण बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।


उनले १५औँ महाधिवेशनमा सभापति वा अन्य पदमा उम्मेदवार नबन्ने नेताहरूलाई समेटेर तदर्थ समिति गठन गर्न र त्यसै समितिले निष्पक्ष रूपमा महाधिवेशन सम्पन्न गराउनुपर्ने धारणा राखेका छन्। तामाङले एक अन्तर्वार्ताका क्रममा भने, “अर्जुननरसिंह केसीलाई संयोजक बनाएर महाधिवेशनमा उम्मेदवार नबन्ने नेताहरूलाई तदर्थ समितिमा राखेर महाधिवेशन गराऔँ, भोलि नै कुरा मिल्छ।”


तामाङले अर्को विकल्प पनि अघि सारेका छन्। उनका अनुसार देउवा र शेखर कोइराला पक्षबीच सहमति कायम गर्न दुवै पक्षबाट १११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरी संगठनलाई समावेशी ढंगले अघि बढाउन सकिन्छ। यसले असन्तुष्ट पक्षलाई पनि समेट्ने र पार्टीलाई एकताबद्ध बनाउने उनको तर्क छ।


तर, पार्टी सभापति गगन थापाले तदर्थ समिति गठन वा थप केन्द्रीय सदस्य मनोनयन गर्ने दुवै प्रस्तावप्रति असहमति जनाउँदै आएका छन्। उनी विधानअनुसार निर्धारित प्रक्रियामार्फत नै महाधिवेशन हुनुपर्ने पक्षमा रहेको बताइन्छ। यही कारण तामाङले अघि सारेका प्रस्तावहरू तत्काल कार्यान्वयन हुने सम्भावना भने कमजोर देखिएको छ।


नेपाली कांग्रेसले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको भए पनि पार्टीभित्रको विवाद अझै टुंगिएको छैन। संस्थापन र संस्थापन इतर समूहबीच नेतृत्व, केन्द्रीय समितिको संरचना तथा महाधिवेशनको प्रक्रियालाई लिएर लामो समयदेखि मतभेद रहँदै आएको छ। देउवा – काेइराला अर्थात इतरपक्षका नेताहरूले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आफ्ना राजनीतिक गतिविधि अघि बढाइरहेका छन्, जसले पार्टीभित्रको ध्रुवीकरण अझ स्पष्ट बनाएको छ।


कान्छाराम तामाङको प्रस्तावले कांग्रेसभित्र सहमतिमार्फत समाधान खोज्नुपर्ने आवाजलाई पुनः बल दिएको देखिन्छ। अर्जुननरसिंह केसी पार्टीभित्र तुलनात्मक रूपमा सबै पक्षसँग संवाद गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। त्यसैले उनको नेतृत्वमा तदर्थ समिति गठन गर्ने प्रस्तावले केही नेताहरूको समर्थन पाउन सक्ने सम्भावना रहेको विश्लेषण गरिन्छ।


यद्यपि कांग्रेसको विधान, महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनको विषय संवेदनशील भएकाले तदर्थ समिति गठन वा ठूलो संख्यामा केन्द्रीय सदस्य मनोनयन गर्ने विषय सहज छैन। यसमा प्रमुख नेतृत्वबीच राजनीतिक सहमति अपरिहार्य हुन्छ। विशेषगरी सभापति थापालगायत नेताहरूले यस्ता प्रस्तावमा असहमति जनाइरहेका कारण तत्काल सहमति जुट्ने सम्भावना कमजोर देखिएको छ।


महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्न नेतृत्व सफल हुन्छ कि सहमतिको नयाँ सूत्र खोज्न बाध्य हुन्छ भन्ने विषयले अब नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्नेछ। यदि आन्तरिक संवाद प्रभावकारी हुन सकेन भने विवाद अझ चर्किने र पार्टीभित्रको ध्रुवीकरण गहिरिने जोखिम पनि उत्तिकै रहने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *