सञ्चारगृहमा शंकास्पद गतिविधिप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र प्रेस सुरक्षाकाे माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार १८:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।


महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्न पाउने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।


रास्वपाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने प्रयास कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ।


विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको प्राणवायुको संज्ञा दिँदै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिएका यस्ता गतिविधिको रास्वपाले भर्त्सना गरेको जनाएको छ।


पार्टीले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।


रास्वपाले अन्त्यमा सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *