भानु जयन्तीमा प्याब्सन नुवाकोटको कविता प्रतियोगिता, सदिक्षा भट्टराई प्रथम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार २०:५२

विदुर (नुवाकोट)। ११३औँ भानु जयन्तीको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले अन्तरविद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।

नेपाली भाषा, साहित्य र सिर्जनशील प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।


प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिङ स्कुल, सूर्यगढी–५ की छात्रा सदिक्षा भट्टराई प्रथम, एसईआई बोर्डिङ स्कुल, लिखु–५ की छात्रा राशिका जी.सी. द्वितीय, पायोनियर बोर्डिङ स्कुल, विदुर–७ (तुप्चे) की छात्रा निष्मा रिजाल तृतीय तथा सुभेनियर बोर्डिङ स्कुल, बट्टार की छात्रा सुलक्षणा कँडेल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।


कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बालसाहित्य सर्जक अनुराधा शर्मा, नुवाकोट साहित्य संगमका अध्यक्ष सुमित्रा सुमी, प्याब्सन नुवाकोटका पदाधिकारी तथा सदस्य विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


अध्यक्ष अधिकारीले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनसँगै विद्यार्थीहरूमा रहेको सिर्जनशील प्रतिभालाई उजागर गर्न आगामी दिनमा प्याब्सन नुवाकोट र नुवाकोट साहित्य संगमबीच सहकार्यलाई थप प्रभावकारी बनाइने जानकारी दिए।


प्याब्सन सदस्य विद्यालय नेशनल बेथेल एकेडेमी, विदुर–९, प्लास्टारमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूलाई साहित्य सिर्जनातर्फ आकर्षित गर्नुका साथै भानुभक्त आचार्यको साहित्यिक योगदानप्रति नयाँ पुस्तामा सम्मान र प्रेरणा जगाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *