काठमाडौं, असार ३० – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाउन नपाइने वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले सरकारले प्रधानमन्त्रीलाई आलोचना र प्रश्नभन्दा माथि राख्ने प्रयास गरिरहेको टिप्पणी गरे। उनले व्यंग्य गर्दै, “श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भास्य स्थापित गर्न खोजिएको छ,” भने।
राईले कुनै समय “बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन” भन्ने प्रधानमन्त्री बालेन्द्र शाह अहिले सत्तामा पुगेपछि फरक व्यवहार देखिएको भन्दै प्रश्न उठाए। “त्यो बेला बोल्न दे सरकार भन्ने र अहिलेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि होइनन्?” उनले प्रश्न गरे।
उनले बहुमतको आडमा संविधान उल्लंघन गर्न नमिल्ने स्पष्ट पार्दै संविधानको सर्वोच्चताको रक्षा गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए। संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गरेको र धारा १ ले संविधानलाई सर्वोच्च कानुनका रूपमा स्थापित गरेको स्मरण गराउँदै उनले बहुमत संविधानभन्दा माथि हुन नसक्ने धारणा राखे।
राईले भने, “बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन। बहुमतले जनताको प्रतिनिधित्व गर्छ, तर जनताको अधिकार कुल्चिने अधिकार दिँदैन।”
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्