काठमाडौं, ३० असार । नेपाल प्रहरीले ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने नागरिकलाई जरिवाना गर्दा कुनै विशेष भत्ता, कमिसन वा अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने उल्लेख गरिएको छ।
प्रहरीले पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना काटेबापत विशेष सुविधा पाउने भन्ने आशयका समाचार र टिप्पणीहरू सार्वजनिक भएपछि त्यसको खण्डन गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो।
विज्ञप्तिमा “ट्राफिक प्रहरीले जरिवाना काटेबापत कुनै पनि अतिरिक्त शुल्क (सुविधा) प्राप्त गर्ने कानुनी व्यवस्था छैन” भन्ने स्पष्ट उल्लेख गरिएको छ।
नेपाल प्रहरीले तथ्यहीन र अपुष्ट समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जनाएको छ।
साथै, समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्