काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेता तथा पूर्वप्रवक्ता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा शंकास्पद रूपमा गाडी राखेर त्रास सिर्जना गर्ने घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने बताउनुभएको छ। उहाँले राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता सम्बोधन गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप आतङ्कित बनाउने गतिविधि गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ, “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ।”
झा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार हुनुहुन्थ्यो तर पराजित हुनुभएको थियो। त्यसअघि उहाँ पार्टीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो।
पार्टीका प्रभावशाली नेताबाट आएको यस अभिव्यक्तिलाई पछिल्ला घटनाक्रमका सन्दर्भमा रास्वपाभित्र महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। सञ्चारगृह तथा सार्वजनिक स्थानमा शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाबारे विभिन्न राजनीतिक दल र सरोकारवालाले निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्