बागमतीमा कांग्रेस–एमाले सहकार्य अन्त्य, एमालेका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३२, बिहीबार १५:०७

काठमाडौं । बागमती प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्। दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्।


नेपाली कांग्रेसले केन्द्रीय तहबाटै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि बागमती प्रदेशमा पनि गठबन्धन टुट्ने भएको हो। त्यसअनुसार एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरेका छन्।


राजीनामाअघि आज बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र एमालेका बागमती प्रदेश प्रमुख सचेतक एकलाल श्रेष्ठबीच वर्तमान राजनीतिक अवस्था, सत्ता सहकार्यको अन्त्य तथा आगामी राजनीतिक समीकरणबारे छलफल भएको थियो।


यसअघि आजै काेशीसहित अन्य केही प्रदेशमा पनि कांग्रेस–एमालेबीचको सत्ता सहकार्य समाप्त भइसकेको छ। बागमतीमा पनि एमाले सरकारबाट बाहिरिएसँगै प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ।


अब बागमती प्रदेशमा कसको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने विषय तत्काल स्पष्ट भइसकेको छैन। नयाँ सरकार गठनका लागि आवश्यक अंकगणित र राजनीतिक सहमति निर्णायक हुने देखिएको छ। प्रदेश सभामा रहेका अन्य दलहरूको भूमिकासँगै विशेषगरी नेपाली कम्युनिस्ट पार्टीकाे निर्णय आगामी सत्ता समीकरणका लागि महत्वपूर्ण हुने राजनीतिक विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *