– शुकदेव दाहाल
नुवाकोट । ‘काम गर्ने दृढ इच्छाशक्ति भए असम्भव भन्ने केही हुँदैन’ भन्ने भनाइलाई नुवाकोटको शिवपुरी गाउँपालिका–८, थानापतीस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयले व्यवहारमै प्रमाणित गरेको छ। स्रोत–साधनको अभावलाई बहाना नबनाई सामुदायिक विद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउने लक्ष्यसहित अघि बढेको विद्यालयले आफ्नै नाममा विद्यालय बस खरिद गरेर एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिटौला( हाल निवर्तमान ) र प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेको नेतृत्वमा सुरु भएको अभियानमा पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक र विभिन्न संघसंस्थाको साथ जोडिँदा असम्भवजस्तै देखिएको सपना अन्ततः साकार भएको हो।
विद्यालय बस खरिद हुनु एउटा सवारी साधन थपिनु मात्र होइन, यो सामुदायिक विद्यालयप्रतिको विश्वास, अपनत्व र सामूहिक एकताको प्रतीक बनेको छ। पछिल्ला वर्षहरूमा गाउँबाट बसाइँसराइ बढ्दै जाँदा र विद्यार्थीहरू शहर केन्द्रित हुँदै जाँदा अधिकांश सामुदायिक विद्यालय विद्यार्थी अभावको चुनौतीसँग जुधिरहेका छन्। यस्तो अवस्थामा विद्यालयसम्म सहज पहुँच उपलब्ध गराउने बसको व्यवस्था विद्यार्थी टिकाउने र नयाँ विद्यार्थी आकर्षित गर्ने प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेका अनुसार हाल विद्यालयमा करिब ४ सय ५० भन्दा मावि विद्यार्थी अध्ययनरत छन्। शिवपुरी गाउँपालिकाभित्र उत्कृष्ट शैक्षिक नतिजा दिने विद्यालयमध्ये जनज्ञान निकेतन अग्रस्थानमा रहँदै आएको छ। अब बस सञ्चालनमा आएपछि वरपरका बस्तीका विद्यार्थीलाई पनि सहज रूपमा विद्यालय ल्याउन सकिने भएकाले आगामी दिनमा विद्यार्थी संख्या अझ बढ्ने विश्वास विद्यालय परिवारको छ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि सिटौलाका अनुसार बस खरिदसँगै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि करिब ९९ लाख रुपैयाँ संकलन गरिएको छ। यसमध्ये एक गैरसरकारी संस्थाले ४२ लाख रुपैयाँ, शिवपुरी गाउँपालिकाले १२ लाख रुपैयाँ, अमेरिकामा रहेका नेपाली समुदायले १९ लाख रुपैयाँ, नेपालभित्रका सहयोगीहरूले २० लाख रुपैयाँ तथा रोटरी क्लबले ५ लाख ४ हजार रुपैयाँ सहयोग गरेका छन्।
संकलित रकममध्ये करिब ५० लाख रुपैयाँ खर्च गरेर विद्यालय बस खरिद गरिएको छ। बाँकी रकमबाट विद्यालय क्यान्टिन, कार्यक्रम सञ्चालनका लागि स्टेज र छात्रा शौचालय निर्माण गरिनेछ। ती संरचना निर्माण सम्पन्न भएपछि बाँकी रहने रकमलाई कोषका रूपमा स्थापना गरी त्यसको ब्याजबाट बस सञ्चालनमा आर्थिक सहयोग पुर्याउने दीर्घकालीन योजना पनि विद्यालयले बनाएको छ।
यसअघि विद्यालयले भाडाको बस प्रयोग गर्दै आएको थियो। अब आफ्नै बस सञ्चालनमा आएपछि त्यो बाध्यता अन्त्य भएको छ।
विशेषगरी टाढाबाट आउने विद्यार्थीको यात्रा सुरक्षित, सहज र नियमित हुने अपेक्षा गरिएको छ। यसले अभिभावकको विश्वास बढाउने मात्र होइन, गुणस्तरीय शिक्षा खोज्दै निजी विद्यालयतर्फ जाने प्रवृत्तिलाई समेत केही हदसम्म रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यालयले असार ३१ गते यातायात व्यवस्था कार्यालयमा आफ्नै नाममा बस दर्ता गरिसकेको छ भने असार ३२ गते बस विद्यालय परिसरमा आइपुगेको छ। विद्यालय परिवारले यस उपलब्धिलाई सम्पूर्ण समुदायको साझा सफलताका रूपमा लिँदै संस्थापक, जग्गादाता, शिक्षक–कर्मचारी, शिक्षक अभिभावक संघ, स्थानीय सरकार, पूर्वविद्यार्थी, स्वदेश तथा विदेशमा रहेका सहयोगी, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
जनज्ञान निकेतनको यो यात्रा एउटा विद्यालयको सफलताभन्दा धेरै ठूलो सन्देश हो। इच्छाशक्ति, पारदर्शी नेतृत्व र समुदायको विश्वास एक ठाउँमा उभिए भने सामुदायिक विद्यालय पनि परिवर्तनको केन्द्र बन्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण आज थानापतीबाट सम्पूर्ण देशले देखिरहेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्