काठमाडौं । नेपाली कांग्रेससँग आबद्ध ‘सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान’ ले पार्टी नेतृत्वलाई राजनीतिक मार्ग परिवर्तन, आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको आग्रह गर्दै पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेकाे छ ।
संयोजक शंकर भण्डारीद्वारा आयाेजित पत्रकार सम्मेलनपछि जारी वक्तव्यमा नेपाली कांग्रेस पछिल्ला वर्षहरूमा कमजोर नेतृत्व, वैचारिक विचलन, गुटबन्दी र संगठनात्मक कमजोरीका कारण जनविश्वास गुमाउँदै गएको उल्लेख गरिएको छ। कांग्रेसको ऐतिहासिक भूमिका पुनः स्थापित गर्न पार्टीले आफ्नो मौलिक राष्ट्रवादी, प्रजातान्त्रिक र सनातन मूल्यमा फर्किनुपर्ने अभियानको धारणा छ। भण्डारी कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन ।
वक्तव्यमा कांग्रेसभित्र वैचारिक स्पष्टता, पार्टी एकता, राजनीतिक शुद्धीकरण तथा जनतासँगको सम्बन्ध पुनर्स्थापना आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरिएको छ।
अभियानले वैदिक सनातन हिन्दू राष्ट्र नेपाल स्थापना, राष्ट्रिय एकता, धार्मिक स्वतन्त्रताको सुनिश्चितता, बहुदलीय लोकतन्त्र तथा मौलिक नेपाली सांस्कृतिक राष्ट्रवादलाई पार्टीको भावी राजनीतिक आधार बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ।
यस्तै, वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति निर्माण गरी देशको हितलाई केन्द्रमा राखेर अघि बढ्न पनि वक्तव्यमार्फत आह्वान गरिएको छ। वक्तव्यको अन्त्यमा पार्टी नेतृत्वलाई गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र संगठनको हितमा निर्णय लिन आग्रह गरिएको छ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्