सुरुङमार्गको शिलालेखबाट ओलीको नाम हटाएकाे भन्दै एमाले महासचिव पोखरेलद्वारा सरकारको आलोचना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १०, आईतवार १२:५८

काठमाडौं । सरकारले आगामी साउन ११ गते सोमबार औपचारिक उद्घाटन गर्ने तयारी गरेको सुरुङमार्गको शिलान्यास शिलालेखबाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर राजनीतिक विवाद चर्किएको छ।


उक्त विषयमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै सरकारको कदमलाई पूर्वाग्रह र प्रतिशोधको राजनीतिको संज्ञा दिएका छन्।
पोखरेलले, “शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन। सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति हो,” भन्दै प्रतिक्रिया दिएका छन्।


उनले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै, “प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन्,” भन्ने मूल्य वर्तमान सरकारले आत्मसात् गर्न नसकेको टिप्पणी गरेका छन्। इतिहास र लोकतान्त्रिक मूल्यको सम्मान नगरी गरिएको यस्तो कार्यले अन्ततः सरकारकै राजनीतिक छविमा नकारात्मक असर पर्ने उनको दाबी छ।


सरकारले सोमबार सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने तयारी गरिरहेका बेला शिलालेखबाट नाम हटाइएको विषयले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। यस विषयमा सरकारको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *