
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले अन्तत ः पछि हटेको छ । प्रमुख तीन दलको बैठकमा एमालेले गृहमन्त्रीलाई संसदमा जवाफ पेश गर्न दिने बताउँदै संसद खुलाउन सहमति जनाएको हो । एमालेले सहमति जनाएसँगै व्यवस्थापिका संसद सुचारु भएको छ ।
संसदमा गृहमन्त्री नायारणकाजी श्रेष्ठले सुन प्रकरणमा जवाफ दिनुभएको छ । सरकारले उत्तः विषयमा छानविन गर्नका लागि सिआइवीलाई जिम्मेवारी दिएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभामुख देवराज घिमिरे सहितको तीन दलको शीर्ष नेताहरूको बैठकमा आज सदन चल्न दिने सहमति भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।सचेतक बर्तौलाले सरकारले प्रतिपक्षलाई गलाउने र जनताका बीचमा सदन एमालेका कारण चल्न नसकेको भन्ने भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सुन तस्करी प्रकरण ,बाढी पहिरो लगायतका विषयमा नेताहरूले सरकारलाई ध्यानाकर्षण गराउने र गृहमन्त्रीले जवाफ दिने गरी आजको संसद् बैठक बस्ने सहमति भएको बताउनुभयो । प्रमुख सचेतक हितराज पाण्डेले सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान निष्कर्षमा नपुगे थप छानबिन गर्न प्रधानमन्त्री तयार रहेको बताउनु भयो ।