
स्यास्थ्य मन्त्रालयले राजधानीको राष्ट्यिसभा गृहमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल, तस्बिर ः नुवाकोट पुकार डटकम
शुकदेव दाहाल
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय शिक्षा ऐन सच्याउन सरकार तयार रहेको बताउनु भएको छ । आज शुक्रबार राजधानीको राष्ट्यिसभा गृहमा स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिक्षा ऐनमा आफूहरुले सोचेको भन्दा केही फरक विषयहरु समेत समावेश भएकाले त्यसलाई सच्याउनका लागि नै संसदमा पेश नगरेको जानकारी दिनुभयो ।
उहाले कुन र कस्ता विषयलाई सरकारले सच्याउन तयार भएको स्पष्ट नखुलाउनु भएपनि आफूहरुलाई पनि यस विषयमा चित्त नबुझेको र कतिपय आवश्यक नभएका विषयहरु पनि ऐनमा उल्लेख गरिएकाले त्यसलाई सच्याउन लागिएको जानकारी दिनुभएको थियो । बिहीबार नै प्रधानमन्त्री दाहालले शिक्षा ऐनमा राजनीतिक तहबाट निर्णय भएका कूराहरुलाई कर्मचारीबाट थपिएको भन्दै त्यसबारे आफूहरुले छानविन गरिरहेको बताउनु भएको थियो । दाहालले आज उक्त कूरा त दोहोर्याउनु भएन तर उहाले ऐन सच्याउने प्रतिवद्धता भने जनाउनु भएको थियो ।
पछिल्लो समय सरकारले ल्याउन लागेको शिक्षा ऐनमा पाँच वर्षभित्र संस्थागत विद्यालयहरु गुठी अन्र्तरगत सञ्चालन गर्नेसहितको ऐन ल्याउने तयारी गरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले विरोध जनाएका थिए । उनीहरुले आफूहरुले उठाएका माग सम्बोधन नभए आइतबारदेखि विद्यालय बन्द गर्ने कार्यक्रम समेत सार्वजनिक गरेका छन् । यस्तै शिक्षक, सरुवा, बढुवादेखि अन्य काम कारबाहीका विषयमा पनि स्थानीय सरकारलार्य दिने कुरा विधेयकमा समेटिएका छन् । उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आफ्नो सय दिनको अवधिमा आफूले गरेका र अब गर्ने कार्यक्रमहरु पुस्तकका रुपमा नै सार्वजनिक गर्नुभएको थियो ।
सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीसहित नेपाल सरकारका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथा नीजि क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा मन्त्री बस्नेतले सरकारले केही समयभित्र स्वास्थ्य क्षेत्रमा देखिने गरि परिवर्तन ल्याउने प्रतिवद्धता समेत जनाउनु भएको थियो । सो अवसरमा उहाले नर्सिड. विषय अध्ययन गर्नका लागि कोटा बढाउने विषयमा सरकार गम्भीर रुपले लागेको समेत बताउनु भएको थियो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य क्षेत्रमा सुधारका कामहरु भएका छन् ।
गरिब तथा विपन्न नागरिकको उपचारमा कूल शैय्याको १० प्रतिशत जनरल शैय्या निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र संघीय सरकारी, सामुदायिक तथा निजी अस्पतालमा परिपत्र गरेर संघअन्तर्गतका अस्पतालबाट कुल तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराइनुका साथै निःशुल्क शय्याको विवरण दैनिकरुपमा सबैले देख्नेगरी राख्ने व्यवस्था मिलाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ।
१६ वर्षदेखि नीतिगत बहसमा रहेको स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न आवश्यक मुख्य कम्पोनेन्ट स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्च घटाउने लक्ष्य पूरा गर्न सहयोगी राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०/२०९०) मन्त्री बस्नेतको पहलकदमीमा मन्त्रीपरिषदबाट स्वीकृति भएको कार्यविवरणमा उल्लेख छ।
प्रगति विवरण अनुसार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०-२०९०) को प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ। गत वर्षदेखि स्वीकृतिको लागि पेश भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एवं समग्र स्वास्थ्य क्षेत्रको उच्च तहको नीतिगत दस्तावेजमध्येको नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८०–२०८७/८८) मन्त्री बस्नेतको विशेष पहलकदमीमा मन्त्रिपरिषदबाट स्वीकृति भएको छ।
साथै मन्त्री बस्नेतको पहलमा श्रावण महिनाको १ गतेदेखि वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडि सञ्चालनमा आएको र टिकट काउन्टर बिहान ७ बजेदेखि नै सञ्चालनमा ल्याइएको छ।
सेवालाई थप सहज बनाउन अस्पतालका हरेक तलामा नगद काउन्टर राखिएको छ। विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा सम्भव नभएमा मात्र विदेशमा स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था कार्यान्वयनका लागि विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति गठन गरिएको र सो समितिको सिफारिसमा मात्र उपचारको लागि विदेश जान सकिने व्यवस्था मिलाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो। सो प्रयोजनका लागि वीर अस्पतालमा तीन शय्या थप गरी कूल पाँच अति विशिष्टकृत शय्या सञ्चालनमा ल्याइएको मन्त्री बस्नेतको भनाइ छ। सबै संघीय अस्पतालमा अनलाइन प्रणालीमार्फत विलिङ गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।
कैदीबन्दीलाई ट्रमा सेन्टरसँग सम्बन्धित स्वास्थ्य सेवाको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौं, केन्द्रीय कारागार अस्पताल, काठमाडौं र मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल, ललितपुरसँग औपचारिक सम्झौता गरी एकीकृत सेवा प्रवाह गरिएको मन्त्री बस्नेतको भनाइ छ।
त्यसैगरी, नेपालले बालबालिकामा हुने क्यान्सर विरूद्धका गतिविधिमा पहलकदमी लिने प्रतिवद्धता जाहेर गरे अनुरूप क्यान्सर उपचार प्रदान गर्ने अस्पतालमा बालबालिकामा हुने क्यान्सरको उपचारको लागि ३५ प्रकारका क्यान्सर विरूद्धका औषधिरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सरसम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठीबाट धुलिखेल घोषणापत्र जारी गरिएको उहाँले जानकारी दिनुभयो। योसँगै मन्त्री बस्नेतले १०७ वटा बुँदामा प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
मन्त्री बस्नेतले गत वैशाख २१ गते पद तथा गोपनियताको शपथग्रहण गरी पदभार ग्रहण गर्नुभएको हो।