उद्योगी–बैंकर पक्राउप्रति महासंघको आपत्ति, लगानी वातावरण प्रभावित हुने चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १, शुक्रबार ०८:०५

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा आर्थिक मुद्दाको अनुसन्धानका क्रममा उद्योगी, व्यवसायी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले यस्ता गतिविधिले मुलुकको व्यावसायिक तथा लगानी वातावरणमा त्रास फैलाएको जनाएको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्र अर्थतन्त्रको मुख्य आधार भएकाले उनीहरूलाई फौजदारी अभियुक्तझैँ प्रस्तुत गर्दै धरपकड गर्नुले लगानीकर्ता र व्यवसायिक समुदायमा नकारात्मक सन्देश गएको उल्लेख गरिएको छ। विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरू पक्राउ पर्दा कर्जा प्रवाह तथा निर्णय प्रक्रियामा असर पर्ने र त्यसले समग्र आर्थिक गतिविधि सुस्त बन्न सक्ने चेतावनी महासंघले दिएको छ।
महासंघले पर्याप्त प्रारम्भिक अनुसन्धान नगरी पक्राउ गर्ने तथा सञ्चारमाध्यममार्फत ‘मिडिया ट्रायल’ गरिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएको छ। अनुसन्धान प्रक्रिया गोप्य र कानुनी दायराभित्रै हुनुपर्नेमा जोड दिँदै, यसले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्ने उल्लेख गरिएको छ।
देवानी प्रकृतिका विषयलाई फौजदारी मुद्दाजस्तो व्यवहार नगर्न सरकारलाई आग्रह गर्दै महासंघले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने कानुनी सिद्धान्तको पालना गर्नुपर्ने बताएको छ।
विगत केही वर्षदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रमैत्री वातावरण आवश्यक रहेको भन्दै महासंघले व्यवसायी र लगानीकर्तामा आत्मविश्वास बढ्ने नीति तथा व्यवहार अपनाउन सरकारसँग माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *