काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै देशको दीर्घकालीन शान्ति, स्थिरता, एकता र अस्तित्वका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर प्रतिवद्धता जनाइरहने राजनीतिक दलहरूले भविष्यका सम्भावित संकट र भूराजनीतिक चुनौतीबारे पनि सोच्नुपर्ने बताएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै “खाली जहिले पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता’ भनिरहने हो भने पार्टी कार्यालयमा प्रचण्डजीको तस्वीर झुण्ड्याए हुन्छ” भन्ने टिप्पणी गरेका छन्।
मिश्रले केही वर्षका लागि केही नेता असल हुँदैमा देशको दीर्घकालीन हित सुनिश्चित नहुने जिकिर गर्दै नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई मध्यनजर गर्नुपर्ने बताएका छन्। उनले भविष्यमा नेतृत्व परिवर्तन, क्षेत्रीय द्वन्द्व, आन्तरिक अस्थिरता तथा सामाजिक–धार्मिक सम्बन्धमा संकट आउन सक्ने सम्भावनाप्रति सचेत गराएका छन्।
उनको भनाइमा, “देशको दीर्घकालीन शान्ति, स्थिरता, एकता, अस्तित्व र भावी पुस्ताको हित ठूलो कि संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो?” भन्ने प्रश्न अहिलेको राजनीतिक नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने अवस्था आएको छ।
मिश्रले विदेश पलायनको विषय उठाउँदै अहिलेका धेरै युवायुवती नेपालमा स्थायी रूपमा बस्ने सम्भावना कम रहेको उल्लेख गरेका छन्। नेपालमा राम्रो अवसर र वातावरण बने मात्र धेरै नेपाली फर्किने अवस्था रहेको उनको भनाइ छ।
उनले भविष्यमा फेरि राजनीतिक संकट वा विद्रोहजस्तो अवस्था आए राजनीतिक दलहरूले “हामीले त राम्रो गरेकै हो, अरूले बिगारे” भनेर पन्छिन नमिल्ने चेतावनी समेत दिएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्