पूर्णबहादुर खड्काले संस्थापनइतर पक्ष छाडेको हल्ला निराधार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३, बुधबार ०८:५४



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनइतर पक्ष छाडेको भन्ने चर्चा निराधार रहेको जनाइएको छ ।

उहाँको सचिवालयले खड्का आफ्ना राजनीतिक अडान, दृष्टिकोण र विचारप्रति प्रतिबद्ध रहँदै पार्टीको सम्पूर्ण एकता, संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्था र राष्ट्रहितका पक्षमा स्पष्ट रूपमा उभिँदै आएकाे जनाएको छल।

पछिल्ला केही दिनयता खड्का असन्तुष्ट भएको, संस्थापनइतर पक्षबाट अलग भएको वा कुनै पदसँग जोडिएका विषयलाई लिएर विभिन्न समाचार तथा सामाजिक सञ्जालमा चर्चा भइरहेका छन् । तर, यस्ता समाचार तथ्यमा आधारित नभई अनुमान, अड्कलबाजी र अपुष्ट सूचनामा आधारित रहेको खड्का निकट स्रोतको भनाइ छ ।


खड्काले पार्टीभित्र आफ्ना सहमति, सैद्धान्तिक असहमति तथा फरक मत राख्दै आए पनि त्यसलाई पार्टी विभाजन वा कुनै समूहबाट अलग भएको अर्थमा बुझ्न नहुने बताइएको छ । फरक मत राख्नु लोकतान्त्रिक अभ्यास भएको भन्दै उहाँले आफ्ना राजनीतिक दृष्टिकोण उपयुक्त समयमा स्पष्ट रूपमा सार्वजनिक गर्ने जनाइएको छ ।


खड्काको प्राथमिकता कुनै पद वा व्यक्तिगत स्वार्थभन्दा माथि नेपाली कांग्रेसको एकता, संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा राष्ट्रहित रहेको बताइएको छ ।


त्यसैले तथ्य पुष्टि नगरी अनुमान र अपुष्ट स्रोतका आधारमा तयार गरिएका समाचार तथा सामाजिक सञ्जालका सामग्रीलाई सत्यका रूपमा ग्रहण नगर्न आग्रह गरिएको छ ।


‘पद आउँछन्–जान्छन्, तर निष्ठा, विचार र राजनीतिक संस्कार स्थायी हुन्छन्’ भन्ने धारणा अघि सार्दै खड्का निकट पक्षले व्यक्तिगत पदभन्दा पार्टीको एकता र पार्टीगत स्वार्थभन्दा राष्ट्रहित ठूलो रहेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *