काठमाडौं । चर्चित कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि राज्यबाट अपेक्षित सहयोग नपाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
रंगशाला निर्माणका क्रममा आफूले ठूलो आर्थिक भार र पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै धुर्मुसले यसपटक आफ्नै देशमा न्याय पाउने आशासहित छोरीसहित मातृभूमि फर्किए पनि राज्यका विभिन्न निकायमा पुग्दा आफ्नो आवाज सुनुवाइ नभएको गुनासो गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक सन्देशमा दुई महिनासम्म अथक प्रयास गर्दै राज्यका विभिन्न ढोका ढकढक्याए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। उल्टै रंगशालाका लागि भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको उनले उल्लेख गरेका छन्।
धुर्मुसले रंगशाला निर्माणसँग जोडिएको १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार, अधुरा सपना र मनभरिको पीडा बोकेर पुनः मातृभूमिबाट फर्किन बाध्य भएको बताएका छन्।
‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्।
१० वर्षसम्म आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गरेको स्मरण गर्दै उनले इमानदारीका साथ देशका लागि केही गरौँ भन्ने सपना बोकेर अघि बढ्नेहरूको नियति यस्तै हुनुपर्ने हो भन्दै राज्यप्रति प्रश्नसमेत उठाएका छन्।
यद्यपि, आफूभित्रको आशा भने अझै नहराएको धुर्मुसले बताएका छन्। कुनै दिन राज्यले आफूहरूको पीडा बुझ्ने, समयले सत्य बोल्ने र संघर्षको मूल्यांकन हुने विश्वास व्यक्त गर्दै उनले न्यायको प्रतीक्षामा रहेको बताएका छन्।
‘चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा,’ भन्दै उनले आफ्ना समर्थक तथा शुभेच्छुकप्रति माया र सम्मान व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्